arrow

गोरखा अस्पतालमा अपरेशन सेवा शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
Gorkha hospital.jpg

गोरखा । गोरखा अस्पतालले १० वर्षसम्म रोकिएको एपेण्डिसाइटिसको अपरेशन सेवा पुनः शुरु गरेको छ । स्तरीय अपरेशन थिएटर, दक्ष सर्जन र एनेस्थेस्थियासिस्टको जनशक्तिबाट सेवा शुरु भएपछि हर्नियाँ, हाइड्रोशीलको पनि शल्यक्रिया सेवा शुरु भएको मेसु हरिकुमार श्रेष्ठले बताए ।

पाठेघर झिकेर फाल्ने, लेप्रोस्कोपी, भ्यासेक्टोमी, बायोप्सी झिकेर परीक्षण गर्न पठाउने सेवा पनि छिट्टै शुरु गर्ने उनले बताए । ‘धेरै मिहिनेत गरेका छौँ । अब नागरिक समाजबाट पनि सकारात्मक सहयोग पाएमा अस्पताललाई धेरै स्तरोन्नति गर्ने जोश र जाँगर छ’, उनले भने, ‘भौतिक पूर्वाधार, दक्ष जनशक्ति भएर मात्र पुग्दैन । स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण चाहिन्छ । सबैको साथ र सहयोग चाहिन्छ । हाम्रो होस्टेमा हैँसे भयो भने गोरखा अस्पताललाई उदाहरणीय बनाउनेछौँ ।’

अस्पतालले अहिले फिजियोथेरापी र मानसिक रोगको पनि उपचार सेवा शुरु गरेको छ । नियमित सेवा समयभन्दा पछि पनि अस्पतालले विशेषज्ञ चिकित्सकद्वारा सेवा दिन सुरु गरेको छ । ‘तीन महिना अघिदेखि हामीले अतिरिक्त समयमा पनि विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य सेवा(इएसएस सेवा) शुरु गरेका छौँ’, उनले भने, ‘इएचएसमा अपेक्षाकृत बिरामी आउने गरेका छन् ।’

अस्पताल एम्बुलेन्स सेवा छैन । ‘अहिले भएको टाइप सी त प्यासेण्ट ट्रान्सपोर्ट भेइकल मात्र हो, एम्बुलेन्स भन्न मिल्दैन’, उनले भने, ‘टाइप बी र टाइप एलाई मात्र एम्बुलेन्स भन्न मिल्छ । दुःखका साथ भन्नुपर्छ हामीसित त्यस्ता एम्बुलेन्स छैनन् । यो पहाडी जिल्ला भएकाले अर्थोपेडिक स्पेशलिस्ट अनिवार्य छ तर अभाव छ ।’ अस्पतालमा पर्याप्त पानीको सेवा नभएको भन्दै उनले हरेक समस्या समाधान गर्दै सेवा सुधार गर्दै जाने बताए ।



नयाँ