arrow

पाँच दलीय निर्णयले झापामा ओली र लिङ्देनलाई फाइदा

logo
युवराज रेग्मी,
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
kp oli-aayog.jpg
एमाले अध्यक्ष केपी शर्मा ओली

झापा । सत्तारुढ पाँच दल बाहेकका दलहरूसँग गरिएको चुनावी गठबन्धन खारेजीको निर्णयले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गृह जिल्ला झापामा फाइदा पुग्ने देखिएको छ । ओलीको प्रतिष्ठाको विषय बनेको झापा दमकमा एमालेविरुद्ध पाँच दलीय गठबन्धनले राप्रपासँग तालमेल गरेको थियो । 

तर गठबन्धन बाहिरको चुनावी तालमेल खारेज नगरे सम्बन्धित दलले उनीहरूलाई तत्काल कारबाही गर्ने निर्णयसँगै दमकमा एमाले दह्रो हुने भएको छ । दमकमा एमालेले गीता अधिकारीलाई नगर प्रमुख र उपप्रमुखमा अम्बिका खनाललाई चुनावी मैदानमा उभ्याएको छ । अधिकारी यसअघिकी उपमेयर हुन् । 

यसअघि एमालेका तर्फबाट रोमनाथ ओली दमकको मेयर थिए । अघिल्लो स्थानीय तह निर्वाचनमा एमाले एक्लैले मेयर र उपमेय दुवै पद जितेको थियो । 

यस पटक दमकमा पाँच दलीय गठबन्धनले राप्रपासँग तालमेल गरेर मेयर राप्रपालाई दिएको छ । राप्रपाका राम थापालाई नगर प्रमुखको साझा उम्मेदवार उभ्याएर चुनावी मैदान होमिएको अवस्थामा स्थानीय नेताहरूले केन्द्रले गरेको निर्णय नमान्ने भन्दै गठबन्धन निरन्तरता दिने बताएका छन् ।

दमकमा दह्रो रहेको एमालेलाई हराउन राप्रपासँग पाँच दलले गठबन्धन गर्नुपर्ने हुन्छ । तर ओलीले आफ्नो प्रतिष्ठाको विषय मान्दै आएको स्थानमा गठबन्धनले निर्णय गरेरै उनलाई सहज बनाइदिएको छ ।

अहिले झापामा अन्य दलहरूसँग गरिएको गठबन्धनको विषय सकसपूर्ण र पेचिलो बनेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको अध्यक्षतामा बसेको बैठकले गठबन्धनबीच भएको सहमति विपरीत विभिन्न दलका प्रतिनिधिले स्वतन्त्र रूपमा दर्ता गरेका उम्मेदवारीलाई तत्काल फिर्ता गर्न पहल गर्ने समेत निर्णय गरेको छ । यस निर्णयले झापा जिल्लाको दमकमा राप्रपासहितको गठबन्धन सङ्कटमा पर्ने देखिन्छ । 

साथै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिका कचनकबलमा कांग्रेस र एमालेले तालमेल गरेको छ । कचनकबलमा पनि अन्य दलहरूसँगको तालमेल कायमै राख्ने स्थानीय नेताहरूले बताएका छन् । 

कांग्रेस झापाका जिल्ला सभापति देउमान थेबेले अन्तिम समयमा आएर केन्द्रले जे निर्णय गरे पनि आफूहरू पछाडि नहट्ने बताएका छन् । उनले स्थानीय आवश्यकताका आधारमा गरिएको तालमेल कायमै रहने बताए ।

सङ्घीय निर्वाचनमा भने एमाले र राप्रपाले तालमेल गरेर झापा ६ बाट अध्यक्ष ओली र झापा ३ बाट राजेन्द्र लिङ्देन विजयी भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ