arrow

त्रिभुवन विमानस्थल :‘सलाम वालेकुम’ विमानस्थलमा बम राखेको छु भन्दै दुई पटक फोन

logo
कृष्णसिंह धामी,
प्रकाशित २०७९ वैशाख २१ बुधबार
airport-domestic-terminal-tia-nepal.jpg
फाइल तस्बिर

काठमाडौँ। बुधवार बिहान ९:४० बजेतिर एक नेपाल बाहिरको नम्बरबाट फोन आयो। जुन फोन अफिसको एक्सचेन्ज नम्बरमा दुई पटक फोन आयो। त्रिभुवन विमानस्थलमा खटिएका टर्मिनल ड्युटी अफिसरले फोन उठाए। फोन उठाउने विक्तिकै उताबाट भनियो,– ‘सलाम वालेकुम। तपाईँको डोमेस्टिक टर्मिनल क्षेत्रको सात ठाउँमा बम राखिएको छ। दुई घण्टाभित्र विस्फोट हुन्छ।’

त्यसको केही समय पुनः फोन आयो। यताबाट टर्मिनल ड्युटी अफिसरले प्रश्न गर्न नपाउँदै उताबाट सात ठाउँमा बम राखिएको र दुई घण्टाभित्र विस्फोट हुने कुरा दोहोर्‍याए।

आन्तरिक उडानतर्फका ड्युटी अफिसरले तत्कालै नागरिक उड्डयन प्राधिकरणको कार्यालयका अधिकारीलाई जानकारी गराए। त्यसपछि तत्कालै सुरक्षा निकायलाई खबर गरियो। बिहान ९:४० देखि ९:५० को बीचमा बम राखेकोबारे सूचना पाएपछि विमानस्थल प्रशासनले एक्सन लियो।

विदेशकै नम्बरबाट आएको फोनमा बोल्ने व्यक्ति भने नेपाली बोलिरहेका थिए। तुरुन्तै विमानस्थल प्रशासन, कार्यरत सुरक्षा निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन भयो। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार डोमेस्टिक टर्मिनलको सम्पूर्ण क्षेत्रमा सर्च अप्रेसन चलायो।

बम डिस्पोजल टोलीद्वारा यात्रु बस्ने क्षेत्र, सुरक्षा जाँच गरिने क्षेत्र मात्र नभएर शौचालयहरूमा समेत सर्च गरियो। सर्च गर्दा त्यस्तो शङ्कास्पद वस्तु केही पनि नपाइएको प्रवक्ता सिटौलाले जानकारी दिए। बम राखेको सूचना आएपछि १० बजेदेखि नै सर्च अप्रेसन सुरु गरिएको उनको भनाइ छ।

सर्च अप्रेसन सुरु गर्नुअघि एयरपोर्ट इमरजेन्सी प्लानअनुसार अपनाउनुपर्ने सावधानी अपनाएर टर्मिनलभित्र रहेका यात्रु तथा सबै कर्मचारीलाई बाहिर निकाली । र सबै विमानहरूको उडान बन्द गरियो।

सुरक्षा निकायले तालिमप्राप्त कुकुरदेखि बम डिडेक्टरको सहायताले सर्च अप्रेसन चलाइएको थियो। तर, केही पनि शङ्कास्पद बस्तु फेला नपरेको प्रवक्ता सिटौलाले बताए।

थ्रेट दिने व्यक्तिबारे सुरक्षा निकायलाई जानकारी गराइएको र सुरक्षा निकायले अनुसन्धान प्रक्रिया अघि बढाइसकेको उनको भनाइ छ। शङ्कास्पद बस्तु फेला नपरेपछि बिहान ११:१० बजेदेखि विमानस्थल सुचारु गरिएको उनको भनाइ छ।

विमानस्थल सुरक्षा प्रहरी प्रमुख एसएसपी भीम ढकालले थ्रेटकलबारे अनुसन्धान थालिएको बताए। ‘फोन गर्ने व्यक्तिबारे अनुसन्धान थालिसकेका छौँ। अनुसन्धानपछि नै थप कुराहरू खुल्नेछन्,’ ढकालले भने।

विमानस्थलमा कुनै थ्रेट आएको खण्डमा बम नै राखिएको जस्तो मानेर अप्रेसन गर्नुपर्ने विमानस्थल प्रवक्ता सिटौलाले बताए। ‘बम थ्रेट आएपछि यसलाई मजाकको रूपमा नलिई साँच्चिकै बम नै राखिएको हो भनेर हामीले त्यहीअनुसार काम गर्छौ,’ प्रवक्ता सिटौलाले भने, ‘किनकि त्यो थ्रेट साँच्चै हो कि झुटा हो भन्ने कुरा त हामीलाई थाहा हुँदैन। त्यसैले हामीले साँच्चै नै बमै हो भनेर काम गर्नुपर्छ।’

यो बीचमा कुनै शङ्कास्पद बस्तु देखेमा तत्कालै सुरक्षा निकायलाई जानकारी दिन सबै यात्रुहरूलाई अनुरोध गरिएको उनको भनाइ छ। एक घण्टाभित्रै सर्च अप्रेसन सकिएको भन्दै डिले भएका सबै उडान आज दिनभर गन्तव्यमा पुर्‍याइसकिने बताए।

‘केही विमानस्थल राति १२ बजेसम्म सञ्चालन हुन थालिसकेका छन्। एक घण्टा मात्रै डिले भएको हो। यसमा रातिसम्म भए पनि सबै उडान सक्नुपर्छ,’ प्रवक्ता सिटौलाले भने। न्युज कारखाना



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ