arrow

उच्च जोखिमबीच बिटक्वाइन अँगाल्ने मुलुक बढ्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
bitcoin-price-latest-analysis.jpg

काठमाडौं । मध्य अफ्रिकी गणतन्त्र र एल साल्भाडोरले बिटक्वाइनलाई ‘लिगल टेन्डर’ बनाएका छन् । क्रिप्टो मुद्रा अपनाउने राष्ट्र अस्थिरताको जोखिममा रहने अर्थविद्हरूको चेतावनीबीच पानामासमेत क्रिप्टोको कारोबार गर्न दिने कानून अघि सारिरहेको छ ।

मध्य अफ्रिकी गणतन्त्र अथवा सेन्ट्रल अफ्रिकन रिपब्लिक (सीएआर) गत हप्ता बिटक्वाइनलाई आधिकारिक मुद्राको रूपमा स्वीकार गर्ने पहिलो अफ्रिकी मुलुक बनेको छ ।

त्यहाँका राष्ट्रपति फास्टिन आर्चेन्ज टाउडेराको सरकारले बिटक्वाइनलाई मुद्राका रूपमा अँगाल्ने विवादास्पद कदमलाई जायज ठहर्याउँदै यसले राष्ट्रका नागरिकहरूको अवस्था सुधार्ने र आफ्नो देशलाई विश्वको सबैभन्दा साहसी र सबैभन्दा दूरदर्शी देशहरूको सूचीमा राख्ने बताएका छन् ।

राजनीतिक पर्यवेक्षक र वित्तीय विश्लेषकहरूले मुलुकको समस्याका लागि क्रिप्टोकरेन्सी समाधान नभएको भन्दै चेतावनी दिएका छन् । सुन र हिराले सजिएको भए पनि वर्षौँको विद्रोही द्वन्द्वले ध्वस्त परेको मध्य अफ्रिकी गणतन्त्र संसारको सबैभन्दा गरिब र कम विकसित देशहरू मध्येको एक हो ।

बिटक्वाइन कानुन हतारमा पारित भयो

अन्तर्राष्ट्रिय मुद्रा कोषको अफ्रिकी विभागका प्रमुख, अबेबे एमरोले क्रिप्टोकरेन्सी अपनाउन वित्तीय पारदर्शिता, सरकारको फ्रेम वर्क र मजबुत भुक्तानी प्रणाली हुनु पर्ने बताएका छन् ।

तर त्यहाँका डिजिटल अर्थमन्त्री जस्टिन गोर्ना जाको भने बिटक्वाइनको पक्षमा छन् । उनले क्रिप्टोकरेन्सीले केन्द्रीय बैङ्कको नियन्त्रण हटाउने बताएका छन् ।

‘तपाईसँग तपाईको पैसा छ, तपाईले यसलाई व्यापारको लागि लगानीकर्तालाई पठाउनुहुन्छ, तपाईले यसलाई कुनै पनि मुद्रामा प्राप्त गर्नुहुन्छ, तपाईले यसलाई डलर, युरो, सीएअमर फ्रान्क वा नाइरामा परिणत गर्न सक्नुहुन्छ’, उनले भने ।

अन्य धेरै पूर्व फ्रान्सेली उपनिवेशहरूझैँ मध्य अफ्रिकी गणतन्त्रले हाल फ्रान्सेली समर्थित सीएआर फ्रान्सलाई आफ्नो मुद्राको रूपमा प्रयोग गर्दै आएको छ । स्रोतसाधनले धनी यो देशलाई रुस र फ्रान्सले नियन्त्रण गर्न प्रतिस्पर्धा गरिरहेका बेला बिटक्वाइन अँगाल्नुले झन् अस्थिरता बढाउने चिन्ता व्यक्त गरेका छन् ।

अस्थिरता प्रमुख मुद्दा

सांसद राहेल नगाकोलाले भने यो कदमलाई आफूले स्वीकार नगरेको बताएकी छिन् । यसबाहेक अन्य धेरैले यो कदमलाई अस्वीकार गरेका छन् । विश्व बैङ्कका अनुसार सीएआरको १० प्रतिशत जनसङ्ख्या मात्रै इन्टरनेटको पहुँचमा भएका कारणसमेत त्यहाँका लागि बिटक्वाइनलाई वैधानिकता दिनु उपयुक्त नभएको विज्ञहरूको भनाइ छ ।

अर्को कुरा भनेको बिटक्वाइन निकै अस्थिर क्रिप्टोकरेन्सी हो । एक वर्षमा कयौँ गुणा मूल्य बढेर एक बिटक्वाइनको मूल्य ६८९९१ अमेरिकी डलरसम्म पुगेर मे ८ मा यो समाचार लेख्दा ३४५६० बिटक्वाइनको मूल्य रहेको छ ।

गरिब मुलुकका लागि बिटक्वाइन अवसर

अर्कातिर क्रिप्टोकरेन्सीका समर्थकहरू यो समावेशी र विकासशील संसारका मानिसहरूका लागि उपयोगी भएको बताउँछन् । विशेष गरी हाइपरइन्फ्लेसनको अवस्थामा सुरक्षित सम्पत्तिको रूपमा बिटक्वाइन रहने उनीहरूको भनाइ छ ।

यस्ता समर्थकमध्येका एक हाइ टेक फाउन्डर फण्डका प्रबन्ध निर्देशक एलेक्स भोन फ्रान्केनबर्ग अफ्रिकाका लागि यो ठूलो अवसर भएको बताउँछन् । तर यसमा सबैको साथ र पूर्वाधार मजबुत बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

विश्वका २.३ अर्ब मानिसहरूको पहुँच अझै पनि बैङ्कमा छैन र त्यसमाथि पनि विशेष गरी अफ्रिकी र मध्य अमेरिकी देशहरूमा । यहाँ नै ठ्याक्कै बिटक्वाइन भुक्तानीको माध्यमको रूपमा सुहाउँदो भएको उनको भनाइ छ । २ करोड १० लाख बिटक्वाइन मात्रै उत्पादन गर्न सकिने र यसलाई कसैले नियन्त्रण गर्न नसक्ने अर्को फाइदाको कुरा रहेको उनको फ्रान्केनबर्गको भनाइ छ ।

वित्तीय प्रणालीमा अस्थिरताको जोखिम
बिटक्वाइनको सम्पूर्ण कारोबार ब्लकचैनमा हुने हुँदा यसमा ठगीको सम्भावना भने बिलकुल हुँदैन । गत वर्ष एल साल्भाडोर बिटक्वाइनलाई कानूनी मुद्राको छातामुनि ल्याउने विश्वको पहिलो देश बनेको थियो ।

क्रिप्टोकरन्सीको प्रयोगलाई प्रवर्द्धन गर्न, एल साल्भाडोरले चिभो वालेट नामको एपसमेत प्रयोगमा ल्याएको छ । जसमार्फत प्रयोगकर्ताहरूले कुनै पनि लेनदेन शुल्क तिर्न बिना शुल्क बिटक्वाइन र अमेरिकी डलरको प्रयोग गर्न सक्छन् ।

बिटक्वाइनले विश्वभर चर्चा बटुलेको छ । अमेरिकापछि बिटक्वाइन माइनिङको हबकारुपमा काजकिस्तान छ । उसको छिमेकी उज्बेकिस्तानले गत साता मात्रै सौर्य ऊर्जाको प्रयोग गरेर गरिने क्रिप्टोकरेन्सीहरूको माइनिङलाई कानूनी मान्यता दिएको छ। 

यद्यपि वासिङ्टन आधारित वैश्विक वित्तीय संस्था अन्तर्राष्ट्रिय मुद्रा कोषले साल्भाडोरन सरकारलाई क्रिप्टोकरेन्सीलाई कानूनी टेन्डरको रूपमा प्रयोग गर्न रोक्न आग्रह गरेको थियो ।

बर्लिनको फ्री युनिभर्सिटीको इन्स्टिच्युट फर ल्याटिन अमेरिका स्टडीजका लेक्चरर क्रिश्चियन एम्ब्रोसियसले त्यतिबेला एल साल्भाडोरले आफ्नो वित्तीय प्रणालीको स्थिरतालाई जोखिममा पारेको बताएका थिए ।

समग्रमा विश्वभर बिटक्वाइनको चर्चा बढे पनि यसको जोखिम उत्तिकै भयानक छ र सकारात्मक पक्ष पनि छन् । तर वास्तवमा बिटक्वाइनले अर्थव्यवस्थामा कस्तो असर पार्छ भन्ने व्यवहारिक नतिजाहरू निकट भविष्यमा एल साल्भाडोर र सीएआर लगायतका मुलुकले देखाउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ