arrow

वृद्धभत्तामा कांग्रेसको फड्को, प्रवक्ता महतले भने –कांग्रेसले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता गरेको छ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
prakash-sharan-mahat-2079-01-26.jpg

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता कांग्रेसले गरेको बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा महतले कांग्रेसले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता जनाएको बताए । 

‘वृद्धभत्ता ७० वर्षमाथिकाले पाउने व्यवस्था छ । अहिले हामीले प्रतिबद्धता गरेका छौं, ६५ वर्षमै वृद्धभत्ता सुनिश्चित गर्ने । किनभने अहिले ७१ वर्ष सरदर आयु पुग्या छ । त्यो पनि ठूलो उपलब्धि हो । कांग्रेस सरकारमा जाँदा नेपालीको सरदर आयु ५४ वर्ष थियो । त्यसलाई हामीले नै बढाएका हौं,’ डा महतले भने, ‘जो चाहीँ हुने खाने छन्, उनीहरू ८०–८५ वर्षसम्म बाँचिरहेका छन्, सरदरभन्दा पनि माथि । जो चाहीँ गरिब छन्, दूरदराजमा बस्छन्, उनीहरूको सरदर आयु ७१ वर्ष पनि छैन । उनीहरू ७० नै पुग्न पाउँदैनन् । त्यो अवस्थामा त्यो समूह वृद्धभत्ताबाट बञ्चित हुनुपरेको छ । त्यसो हुनाले उहाँहरूलाई लक्षित गरेर हामीले ६५ वर्षदेखि नै वृद्धभत्ता दिने हाम्रो अठोट छ, हाम्रो सरकार आएपछि कार्यान्वयन गर्छौं ।’

सुत्केरी महिलाहरूलाई पाँच हजार भत्ता दिने निर्णय पनि कांग्रेस सरकारले नै गरेको उनको भनाइ छ । साना किसानहरूलाई १० हजार क्रेडिट कार्डसहित दुई प्रतिशत व्याजदरमै ऋण उपलब्ध गराउने प्रतिबद्धता कांग्रेसले गरेको छ । यसले गर्दा सिमान्तकृत साना किसानहरूलाई धेरै ठूलो राहत मिल्ने उनको भनाइ छ । 

यता, पत्रकार सम्मेलनमा महतले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपको खण्डन गरेका छन् । महतले नेपाली कांग्रेसले अघि सारेको नीति तथा कार्यक्रमको ब्याजसमेत नेकपा एमालेले खाइरहेको बताएका छन् । 

आइतबार आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेस कुनै नीति नै नभएको पार्टी भएको बताएका थिए । त्यसको खण्डन गर्दै कांग्रेस प्रवक्ता महतले भने, ‘सामुदायिक वनको अवधारणा ल्याएर नांगो भइसकेको पहाडलाई फेरि हराभरा बनाउने पार्टी कांग्रेस हो । नेपाली कांग्रेसले जुन नीति र कार्यक्रम देशमा कार्यान्वयन गर्‍यो, त्यसको ब्याज साँवासहित खाने पार्टी एमाले हो । झुठो आरोपको पुलिन्दा ओलीजीले लगाउनुभएको छ ।’

नेपाली कांग्रेसले ल्याएको आर्थिक उदारीकणको नीतिअनुसार नै निजी उद्योग व्यवसाय फस्टाएको बताए । ‘नेपाली कांग्रेसले जुन आर्थिक उदारीकरणको नीति लियो, जताततै निजी उद्योग व्यवसायहरू फस्टाउन थाले,’ प्रवक्ता महतले भने, ‘उहाँ चाहीँ बासँबारी छाला जुत्ता कारखानाको उदाहरण दिनुहुन्छ । त्यसको ठाउँमा त संयौ छाला जुत्ता कारखाना खुलेको त बिर्सिनुभयो । एउटा उदाहरण उहाँ दिइराख्नुहुन्छ । र त्यो ठाउँमा गंगालाल हृदय रोग केन्द्र स्थापना भएको उहाँले बिर्सिनुभयो ।’

नेकपा एमालेलाई कांग्रेसको विरोध गर्ने कुनै आधार नभएको बताए । ‘उहाँहरूलाई नेपाली कांग्रेसको विरोध गर्ने कुनै आधार छैन । जहिले पनि विकास भनेको नयाँ प्रविधि, नयाँ फड्को मार्ने हो,’ प्रवक्ता महतले भने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ