arrow

एनआरएनएले नवौं राष्ट्रिय खेलकुदमा अमेरिका, इंग्ल्याण्ड र अष्ट्रेलियाबाट क्रिकेट र फुटबल टिम ल्याउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
279880970_716489446056258_1494757720622157299_n.png

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि एनआरएनएले अमेरिका, इङ्गल्याण्ड र अष्ट्रेलियाबाट क्रिकेट र फुटबल टिम ल्याउने भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए स्पोर्टस) ले पनि नवौं खेलकुदको तयारी तीब्र पारिएको जनाउँदै टिमहरु आउने एनआरएन स्पोर्टस एकेडेमीका कार्यबाहक सदस्य सचिव धर्मराज गिरीले जानकारी दिए ।

उनले एनआरएनएले नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने गरी तयारी भइरहेको र यस पटक राखेपले प्रस्ताव गरेका ३६ मध्ये १८ खेलमा सहभागी हुने बताएका छन् । उनले भने ‘हामीले तयारी तीव्र पारेका छौं, अहिले खेलाडीहरुको विवरण संकलन गर्ने काम भइरहेको छ । राखेपले तोकेको मितिसम्म खेलाडी हामीले दर्ता गर्छौं ।’

आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत इभेन्ट्समा मात्रै सहभागिता जनाएको एनआरएनएले यस पटक सामूहिक खेलमा पनि सहभागीता जनाउँदै छ । यो पटक फुटबल, भलिबल र क्रिकेटका साथै बास्केटबलको पनि टिम आउने जनाइएको छ ।

क्रिकेटको टिम इंग्ल्याण्ड यूकेबाट आउने छ । यसैगरी भलिबलको टिम अष्ट्रेलिया र यूकेबाट ल्याउने तयारी गरिएको छ भने बास्केटबलको टिम अष्ट्रेलियाबाट आउने छ । 

यस्तै फुटबलको टिम ल्याउने जिम्मा हिमालयन फुटबल क्लब मलेसियाका अध्यक्ष सन्तोष कार्कीलाई जिम्मा दिएको र उनले अष्ट्रेलिया र मलेसियाबाट खेलाडी छनोट गराएर टिम बनाउने बुझिएको छ ।

एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले पनि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आफू निकै उत्साहित रहेको बताएका छन् । 

विदेशमा बसेका नेपालीहरुलाई नेपालसँग खेलकुदको माध्यमबाट जोड्न पाउँदा आफू उत्साही रहेको र प्रतियोगितामा एनआरएनएको सक्रिय सहभागिता हुने भन्दै तयारीका लागि कुनै कसर बाँकी नराख्न निर्देशन पनि दिएका छन् । 

खेलकुदका लागि एनआरएनएका तीन जना युवा उपाध्यक्षहरु हिमाल गुरुङ, राज रेग्मी र रोशन थापा सहित संयोजकहरु अब्दुल बसिद र रविन्द्र खड्काले विभिन्न देशमा रहेका एनसीसीहरुसँग समन्वय गरिरहेको कार्यबहाक सदस्य सचिव गिरीले बताए ।  

जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ ।  अब १ महिना भन्दा कमको समय रहेकाले प्रतियोगितामा सहभागी हुने ७ प्रदेश र ४ वटा विभागले आ–आफ्नै तरिकाले तयारी शुरु गरेका हुन् । एनआरएनए कान्छो विभागको रुपमा गत आठौं राष्ट्रियबाट सहभागी भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ