arrow

बिटक्वाइन अँगाल्नेबारे एल साल्भाडोरमा सम्मेलन, राष्ट्र बैंकका प्रतिनिधि पनि सहभागी

logo
प्रकाशचन्द्र जाेशी
प्रकाशित २०७९ जेठ २ सोमबार
el-salvador-bitcoin-nrb.PNG

काठमाडौं । मध्य अमेरिकी मुलुक एल साल्भाडोरका ४० वर्षीय राष्ट्रपति नायब बुकेलेले बिटक्वाइन सम्बन्धीको सम्मेलन आयोजना गरेका छन् । मंगलबार आयोजना हुने उक्त सम्मेलनमा भाग लिन नेपाल राष्ट्र बैंकका प्रतिनिधिसमेत गएका छन् ।

एल साल्भाडोरका राष्ट्रपति बुकेलेले सोमबार सामाजिक सञ्जालमार्फत ट्विट गर्दै यसबारे जानकारी दिएका हुन् । उनले ट्विटरमा लेखेका छन्, ‘मंगलबार वित्तीय समावेशीकरण, डिजिटल अर्थतन्त्र, बैंकविहीन बैंकिङ, बिटक्वाइन रोलआउट र हाम्रो देशमा यसका फाइदाहरूबारे छलफल गर्न ४४ देशका ३२ केन्द्रीय बैंकका र १२ वित्तीयय संस्थाका अधिकारी एल साल्भाडोरमा भेट्दै छन् ।’

गत वर्ष एल साल्भाडोरले बिटक्वाइनलाई औपचारिक रुपमा आधिकारिक मुद्रा बनाएको थियो । बिटक्वाइनलाई आफ्नो मुद्राको मान्यता दिने पहिलो देश नै एल साल्भाडोर बनेको थियो । त्यसपछि केही दिनअघि मात्रै मध्य अफ्रिकी गणतन्त्र (सीएआर) ले पनि बिटक्वाइनलाई आफ्नो आधिकारीक मुद्राका रुपमा अँगालेको छ ।

कतिपय अर्थविद्हरुले बिटक्वाइन अँगाल्नुलाई चेतावनीकारुपमा हेरे पनि उत्तिकै समर्थकहरु पनि रहेका छन् । गरिब र विकासोन्मुख देशका लागि बिटक्वाइन झन् अवसर भएको टिप्पणीसमेत गरिएका छन् ।

यसैबीच एल साल्भाडोरले आफूपछि अन्य मुलुकहरुलाईसमेत सोही मार्गमा डोहोर्याउन खोजिरहेको संकेत गरेको छ । एल साल्भाडोरमा मंगलबार रुवाण्डाको नेशनल बैंक, नेपाल राष्ट्र बैंक, केन्या, स्टेट बैंक अफ पाकिस्तान, कोस्टा रिका, इक्वेडर, साल्भाडोर, इजिप्टको केन्द्रीय बैंक, जोर्डन को केन्द्रीय बैंक, नाइजेरियाको केन्द्रीय बैंक, सेनेगल, डोमिनिकन गणतन्त्र, मौरिटानी, कंगो, आर्मेनियाको केन्द्रीय बैंक र बंगलादेश बैंकलगायत गरी ४४ देशका प्रतिनिधिहरु उक्त छलफलमा सम्मेलन हुने राष्ट्रपति बुकेलेले बताएका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले राष्ट्र बैंककोतर्फबाट एक प्रतिनिधि त्यहाँ गएको जानकारी दिएका छन् । उनले एल साल्भाडोरमा बिटक्वाइनसँग सम्बन्धित छलफलका लागि राष्ट्र बैंकका अधिकारी गएको बताएका हुन् ।

विश्वभर क्रिप्टाकरेन्सी र मुद्राको डिजिटाइलेसनका बेला नेपाल राष्ट्र बैंकले बैशाखमा ६७औं वार्षिक स्थापना दिवसको अवसरमा आफ्नै डिजिटल मुद्रा (डिजिटल करेन्सी) ल्याउने तयारी गरिरहेको बताएको थियो ।

नेपालमा हाल क्रिप्टोकरेन्सी पूर्णरुपमा प्रतिबन्धित भए पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा यसमा नेपालीहरु संलग्न रहेको बताइन्छ । विश्वका धेरै जसो मुलुकमा बिटक्वाइनलाई आशिंक रुपमा सञ्चालन हुन दिइएको छ । मध्य एसियाली मुलुक कजाकिस्तान र उज्वेकिस्तानले क्रिप्टो माइनिङलाई अनुमति दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ