arrow

नवलपुरमा ओरालो लागेको काँग्रेस...

logo
सन्जय भट्टराई,
प्रकाशित २०७९ जेठ ७ शनिबार
IMG_20220521_095355.jpg

नवलपुर। २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका ८ वटा स्थानीय तह मध्य ६ वटा स्थानीय तहमा जित हासिल गरेर जिल्लाको ठुलो दल बनेको नेपाली काँग्रेसले २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन सम्म आइपुग्दा मुस्किलले २ वटा स्थानीय तहमा विजय हासिल गर्‍यो।

जिल्लाका कुल ९२ वटा वडा मध्य अघिल्लो पटक ५६ वटा वडाको नेतृत्व गरेको काँग्रेसले यस पटक मात्रै ४१ वटा वडामा जित निकाल्यो।

पछिल्लो ५ वर्षको अवधिमा काँग्रेसले नवलपुरमा ६ वटा पालिकाको नेतृत्व मात्रै गरेन यो बिचमा जिल्लाबाट प्रदेश सांसद बनेका कृष्णचन्द्र नेपाली गण्डकी प्रदेशको मुख्यमन्त्री बने। स्थानीय तहको निर्वाचनको करिब एक वर्ष अगाडी सङ्घीय तथा प्रदेश सरकारको नेतृत्व काँग्रेसले नै गर्‍यो।

स्थानीय तहको निर्वाचनको केही महिना अगाडी भएको पार्टीको जिल्ला अधिवेशनमा पाका र अनुभवी मानिएका महेन्द्रध्वज जिसिलाई सर्वसम्मत पार्टी सभापतिको रूपमा पायो, जिल्लाबाट समानुपातिक सूचिमा रहेका उद्योगी विनोद चौधरी र पूर्व महामन्त्री शंशाक कोइराला पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भए।

जिल्ला अधिवेशनमा सभापति सर्वसम्मत चेतन हुँदा गुट व्यवस्थापन भएको र काँग्रेस बलियो भएको भान कार्यकर्तामा भयो तर स्थानीय तहको निर्वाचनको परिणामले जिल्लाका आम कार्यकर्ताको आसा र भरोसालाई भताभुङ्ग बनाइदियो।

सङ्घ र प्रदेशमा आफ्नो पार्टीको सरकार, ६ वटा स्थानीय तहमा काँग्रेसकै नेतृत्व हुँदा आखिर किन नवलपुरमा नमजाले काँग्रेस ओरालो लाग्यो त ? यसको उत्तर नवलपुरका आम काँग्रेस कार्यकर्ताले खोजी रहँदा पार्टीको जिल्ला नेतृत्व भने मौन देखिएको छ। अझ रोचक कुरा त के छ भने पाँच दलीय गठबन्धन गर्दा पनि ६ वटा पालिका बाट २ वटा र ५६ वडा बाट ४१ मा खुम्चिदा जिल्ला सभापति महेन्द्रध्वज जिसिले बधाई तथा धन्यवाद ज्ञापन गर्दै विज्ञप्ति निकाले। जिसीद्वारा जारी विज्ञप्तिमा २ वटा पालिका जित्दा बधाई भनिएको छ तर पराजयको विषयमा विज्ञप्ति मौन देखिएको छ।

त्यसो त जिल्ला सभापति महेन्द्रध्वज जिसिको गृह नगर देवचुली नगरपालिका र उनको आफ्नै वडा देवचुली-१६, प्रदेश महामन्त्री विष्णु लामिछानेको गृह पालिका बौदीकाली र उनको आफ्नै वडा बौदीकाली-१ मा काँग्रेस पराजित हुँदा समेत पराजयको विषयमा नेतृत्व गम्भीर देखिएको छैन।

पार्टीका पुर्वमहामन्त्री एवं वर्तमान केन्द्रीय सदस्य डा. शशाङ्क कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री एवं काँग्रेस केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली , केन्द्रीय सदस्य विनोद चौधरी, प्रदेश महामन्त्री विष्णु लामिछाने, पाका र अनुभवी भनिएका जिल्ला सभापति महेन्द्रध्वज जिसि, सङ्घीय सांसद सत्यनारायण खनाल जस्ता हस्ती भनिएका नेताहरूको जिल्लामा काँग्रेस गठबन्धन सहित चुनावमा जाँदा नराम्ररी पराजित भए पछि नेताहरूको क्षमता माथि नै यति बेला नवलपुरका काँग्रेस कार्यकर्ताले प्रश्न उठाएका छन्।

टिकट वितरणमा चरम असन्तुष्टि, असन्तुष्ट पक्षको उचित व्यवस्थापन, गठबन्धन गर्दा पर्याप्त विचार नपुर्‍याउनु र गठबन्धन प्रति इमानदार नहुँदा काँग्रेसको यो हालत भएको काँग्रेस वृत्तमै चर्चा छ। जिल्लाको गैँडाकोट र हुप्सेकोट बाहेक काँग्रेसको गढ मानिएका बुलिङ्गटारमा अध्यक्षमा पराजित हुनु, जिल्लामा अघिल्लो पटक नेतृत्व गरेको देवचुली, मध् विन्दु, विनयी त्रिवेणी तथा जिल्ला सदरमुकाम कावासोतीमा मात्रै ४ वटा वडामा खुम्चिनु काँग्रेसका लागि भने भविष्यमा हुने सङ्घ र प्रदेशको निर्वाचनका लागि यसले अँध्यारो भविष्य देखाएको छ।

काँग्रेस नेतृत्वले निकालेको विज्ञप्तिमा पराजयको समीक्षा गर्न छोडेर धन्यवाद र बधाईमा मात्रै खुम्चिनुलाई हताश र अतालिएको अवस्थामा पुगेको भन्दै काँग्रेस वृत्तमै चर्चा सुरु भएको छ।

भर्खरै सम्पन्न भएको निर्वाचनको गम्भीर समीक्षा र लेखाजोखा गरेर उचित कदम नचाल्ने हो भने आगामी सङ्घीय र प्रदेशको निर्वाचनमा काँग्रेस अझै कमजोर र निरन्तर ओरालो लाग्ने बाटोमा हिँड्ने पक्कापक्की छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ