arrow

स्थानीय तह निर्वाचन : कर्णालीमा काँग्रेस बन्यो पहिलो दल

logo
रासस,
प्रकाशित २०७९ जेठ ७ शनिबार
karnali-pradesh-province-always.jpg
फाइल तस्बिर

कर्णाली। स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत कर्णालीका १० जिल्लाका ७९ वटै पालिकाको मत परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगकारअनुसार कर्णालीमा नेपाली काँग्रेसले ३२, नेकपा (माओवादी केन्द्र) ले २३, नेकपा (एमाले) ले १५ र नेकपा (एकीकृत समाजवादी) ले चार तथा स्वतन्त्र उम्मेदवारले पाँच पालिकाको नेतृत्व पाएका छन्।

विसं २०७४ को निर्वाचनमा २६ पालिकाको नेतृत्व लिएर पहिलो दल बनेको एमाले यस पटक तेस्रो स्थानमा खुम्चिएको छ भने तेस्रो दल काँग्रेस  ३२ पालिकाको नेतृत्व गर्दै पहिलो शक्तिका रूपमा स्थापित भएको छ। काँग्रेसले रुकुम पश्चिमका दुई, सुर्खेतका चार, जाजरकोटका तीन, हुम्लाका तीन, कालिकोटका दुई, जुम्लाका पाँच, मुगुका दुई, डोल्पाका एक, सल्यानका पाँच र दैलेखका पाँच पालिकाको नेतृत्व जित्न सफल भयो।

एमाले विभाजनपछि स्थानीय तहमा पहिलो शक्ति बनेको माओवादी केन्द्र यस पटकको निर्वाचनमा दोस्रोमै सीमित बन्न पुग्यो। विसं २०७४ मा २५ पालिकाको नेतृत्व लिएको माओवादी केन्द्र यस पटक २३ पालिकामा झरेको हो। माओवादी केन्द्रले रुकुम पश्चिमका चार, सुर्खेतका एक, दैलेखका दुई, जाजरकोटका एक, हुम्लाका तीन, कालिकोटका पाँच, जुम्लाका दुई, मुगुका एक, डोल्पाका दुई र सल्यानका दुई पालिकाको नेतृत्व लिएको छ। विसं २०७४ को निर्वाचनमा एउटा पनि पालिका नजितेको दैलेखमा यस पटक दुई र सुर्खेतमा एक पालिकामा विजय हासिल गरेको छ।

एमालेले भने कर्णालीका कालिकोट, हुम्ला, मुगु, जुम्ला र रुकुम पश्चिमका कुनै पनि पालिकाको नेतृत्व लिन सकेन। एमालेले यस पटक सुर्खेतका चार, दैलेखका चार, जाजरकोटका तीन, डोल्पाका तीन र सल्यानका दुई पालिकाको मात्र नेतृत्व पाएको छ। एकीकृत समाजवादीले डोल्पाका दुई, मुगु र सल्यानका एक÷एक पालिकाको नेतृत्व पाएको छ।

यस पटकको निर्वाचनमा हुम्लाको चङ्खेली गाउँपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, जुम्लाको चन्दननाथ नगरपालिका र डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। जबकि विसं २०७४ को निर्वाचनमा सल्यानमा एक र डोल्पाका तीन पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए।

यसैबीच काँग्रेसका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले आज एक विज्ञप्ति जारी गर्दै पार्टीलाई कर्णालीमै पहिलो शक्तिका रूपमा स्थापित गराउन मतदान गर्ने सबैमा धन्यवाद व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ