arrow

नवनिर्वाचित जनप्रतिनिधीहरूले पदभार ग्रहणसँगै गरे लोकप्रिय निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
doti-gapa.jpg

डोटी । नवनिर्वाचित जनप्रतिनिधिहरूले पदभार ग्रहणसँगै लोकप्रिय योजना कार्यान्वयन गर्ने घोषणा गरेका छन् । शुक्रवार पदभार ग्रहण गर्दै केआइसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले गाउँमा विशेषज्ञ चिकित्सकीय सेवा सञ्चालन गर्ने घोषणा गरेका छन् ।

 अध्यक्ष पदमा पुनः निर्वाचित शाहीले यसअघि गाउँपालिकाकै विकास बजेटबाट पहिलो पटक स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर ल्याएर सेवा दिएका थिए  । उनले यस पटक स्त्रीरोग तथा गाइनो सर्जन विशेषज्ञ चिकित्सक ल्याएर जनताको स्वास्थ्य उपचारमा विशेष जोड दिने बताए । 

उता दिपायल सिलगढी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बाजिसिं खड्का `विजय´ले नगरभित्रका सुत्केरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा र नगरभित्र सुविधा सम्पन्न खेल मैदान निर्माण गर्ने निर्णय गरेका छन्। 

त्यस्तै आदर्श गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गणेशबहादुर खड्काले पालिकाभित्रका ज्येष्ठ नागरिक, महिला स्वयंसेविका, सुत्केरी महिलाहरूलाई निःशुल्क एम्बुलेन्स सेवा दिनुका साथै गाउँपालिकाभित्रका गरिब परिवारको पहिचान गरी उनीहरूका छोराछोरीलाई गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने निर्णय गरे।

शिखर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख दीर्घ बहादुर बलायरले भने पदभार ग्रहण पश्चात् नगरका जबाफदेही र पारदर्शिताका लागि सूचनाको हक कार्यान्वयनमा जोड दिन निर्देशन दिए । उनले नगरपालिकाका हरेक सार्वजनिक सूचनाहरू जनताले सहजै भेटाउने गरी स्मार्ट एप सञ्चालन गरी वेबसाइटमा अनिवार्य सार्वजनिक गरिने प्रतिबद्धता गरे। 

सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीलगायतका नवनिर्वाचित जनप्रतिनिधिहरूले समेत पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै अध्यक्ष जोशीले गाउँपालिकाभित्रका सुत्केरी महिलाहरूका लागि एम्बुलेन्स सेवा निःशुल्क गराउने निर्णय गरेका छन् । 

पूर्विचौकी गापा अध्यक्ष राम प्रसाद उपाध्यायले गरिबहरूको पहिचान गरी उनीहरूको जीविकोपार्जनका लागि योजना ल्याउने घोषणा गरे भने बडीकेदार गाउँपालिका अध्यक्ष भैरव बहादुर साउँदले गाउँपालिकाभरि बिजुली बिस्तार गर्नुका साथै सबै टोललाई सडक सञ्जालमा जोडिने प्रतिबद्धता गरे । 

शुक्रवार डोटीका ९ वटै पालिकाका जनप्रतिनिधिहरूले शपथग्रहण गरेका छन् भने पालिकाका प्रमुख तथा उप प्रमुखहरूले पदभार ग्रहण गरेका छन्।



नयाँ