arrow

हत्यारा पूर्वडीआईजी कोइरालाको मुद्दामा प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीले गरेको फैसला उल्टियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
ranjan-prasad-koirala-killer-wife.jpg

काठमाडौं । सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जनप्रसाद कोइरालाको फेरि जेल यात्रा हुने भएको छ । सर्वोच्च अदालतले उनलाई यसअघि दिएको कैद छुटको आदेश उल्टिएसँगै कोइरालाको फेरि जेल यात्रा हुने भएको हो । 

बिहीबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा कुमार चुडालको पूर्ण इजलासले कर्तव्य ज्यान मुद्दामा कैद सहुलियत नहुने भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कैद सजाय छुट दिन दिएको आदेश उल्टाइदिएको हो । 

आदेशमा जन्मकैदको सजायमा सहुलियत दिन नसकिने उल्लेख छ । १५ असार २०७७ मा जबरा र केसीको इजलासले चित्तमा लागेको भन्दै तजबिजी अधिकार प्रयोग गर्दै कोइरालाको कैद सजाय घटाउँदै साढे आठ वर्ष भुक्तान गरे हुने फैसला गरेको थियो । 

त्यसविरुद्ध ११ साउन २०७७ मा महान्यायाधिवक्ताको कार्यालयले उक्त आदेशविरुद्ध पुनरवलोकन रिट दिएको थियो । कोइराला २०६८ मा श्रीमती गीता ढकालको हत्या गरी शवसमेत नष्ट गरेको कर्तव्य ज्यान मुद्दामा यसअघि नै दोषी ठहर भइसकेका छन् । 

कोइरालालाई ७ वैशाख २०७१ मा काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको सजाय सुनाएको थियो। जिल्ला अदालतले हत्याबाट नै श्रीमती गीता ढकालको मृत्यु भएको ठहर गरेको थियो ।

पुनरावेदन अदालत पाटनले पनि त्यसैलाई सदर गरेको थियो । तर सर्वोच्च अदालतले २० वर्षको कैदलाई साढे ८ वर्ष हुने भनी सजाय घटाएको थियो । सर्वोच्चको फैसलापछि कोइराला जेलबाट रिहा भएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ