arrow

विनोद पहाडीलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १६ सोमबार
binod pahadi pic.jpg

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘-२०७८ विनोद पहाडीलाई प्रदान गर्ने निर्णय गरिएको छ । 

संविधानसभा सदस्य (२०६४-६९) समेत रहेका अधिकारकर्मी एवं सञ्चारकर्मी विनोद पहाडीलाई तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गरेको उल्लेखनीय योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले पुरस्कृत गर्ने निर्णय गरेको हो । 

२०७९ मङ्सिरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजना गरिने कार्यक्रममा रु १ लाख १० हजार पुरस्कार राशि र सम्मान पत्रसहित पहाडीलाई पुरस्कृत गरिने छ ।

तीन दशक लामो अधिकारको आन्दोलनमा संलग्न रहँदा पटक पटक पक्राउ परेका विनोद पहाडी डा. भिमराव अम्वेडकर अवार्डबाट समेत सम्मानित भइसकेका छन् ।

पिता रामबहादुर नेपाली र आमा सोभी नेपालीका सुपुत्र विनोद पहाडीको जन्म २०२८ साल वैशाख ६ गते पाल्पाको भुवन पोखरीमा भएको थियो । 

हाल बुटवल, रुपन्देही निवासी पहाडी २०४६ सालदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन् । विभिन्न सञ्चारमाध्यममा आबद्ध पहाडी नेपाल राष्ट्रिय दलित पत्रकार सङ्घको संस्थापक अध्यक्ष (२०६१), नेपाल पत्रकार महासङ्घको पूर्व केन्द्रीय सदस्य (२०५६) एवं पत्रकार महासङ्घ रुपन्देही शाखाको दुई कार्यकाल ( २०५३-५८) सभापति रहिसकेका छन् ।

दलित समुदायको अधिकार र उत्थानका लागि विभिन्न संघसंस्थाहरुमा क्रियाशील पहाडीले सामाजिक न्यायको आन्दोलनका क्रममा विभिन्न अनुसन्धान-अध्ययन कार्यमा समेत योगदान गरेको छ । उनी लेखक तथा विश्लेषक हुनुका साथै विभिन्न मानव अधिकार संस्थाहरूमा पनि क्रियाशील छन् ।

अभियानकै क्रममा पहाडीले ब्रिटेन, फ्रान्स, जापान, स्विजरल्याण्ड, साउथ अफ्रिका, मेक्सिको, बेल्जियम, रुवाण्डा, बुरुण्डी, युगाण्डा, केन्यासहित १९ देशको भ्रमण गरेका छन् ।



नयाँ