फिर्ता आउने भएसँगै नेकपा एसका मन्त्रीहरू पार्टी कार्यालयमा
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २२ आइतबार
1.1k
Shares
काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ । सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाउन लागिएको हो । समाजवादीले नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई पठाएको छ ।
यससँगै सरकारमा सहभागी मन्त्रीहरू पार्टी कार्यालय पुगेका छन् । पर्यटनमन्त्री प्रेम आले, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा लगायतका मन्त्रीहरू पार्टी कार्यालयमा पुगेका हुन् ।
आइतबार बसेको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेरको विषयमा छलफल भएको थियो । मन्त्री हेरफेर गर्ने निर्णय गर्दै मन्त्रीको टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई दिइएको थियो । पार्टी कार्यालयमा उनीहरूले पार्टी अध्यक्ष नेपालसँगै महासचिव डा बेदुराम भुसालसँग छलफल गरेका छन् ।
पार्टीले वर्तमान स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्यमन्त्रीका लागि सिफारिस गरेको छ । त्यस्तै जीवनराम श्रेष्ठलाई पर्यटन, मेटमणि चौधरीलाई शहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्रीका लागि सिफारिस गरेको छ । हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका लागि सिफारिस गरेको छ ।
समाजवादीले वर्तमान पर्यटनमन्त्री आले, स्वास्थ्यमन्त्री खतिवडा, सहरी विकासमन्त्री रामकुमार झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको छ ।