मन्त्रीको कुर्सी छाड्नु परेपछि नेकपा एसभित्र भाँडभैलोः प्रेम, किसान र विरोधको विरोध
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २२ आइतबार
578
Shares
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो तर्फबाट मन्त्री फेर्ने भएपछि पर्यटन मन्त्री प्रेम आले र श्रम मन्त्री किसान श्रेष्ठले असन्तुष्टि जनाएका छन् । मन्त्री पद भागबण्डाको विषय नभएको बताउँदै उनीहरुले असन्तुष्टि जनाएका हुन् ।
एस पार्टीको सचिवालय बैठकबाट निर्णय गरेर नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट मन्त्री फेर्न लागेको थाहा पाएपछि उनीहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भेटेर असन्तुष्टि जनाएका थिए ।
पर्यटनमन्त्री हुँदा आफूले गरेको कामको विवरण देखाउँदै आले आफू मन्त्रीबाट हट्नु पर्ने कुनै कारण नभएको बताएका थिए । स्रोतका अनुसार आलेले निकै असन्तुष्टि जनाएका थिए । नारायणहिटी दरबार र पशुपति धर्मशालाबाट बतास ग्रुपलाई हटाएको, सुधारको धेरै काम गरेको, पार्टीको इज्जत बचाएको भन्दै आफू हट्नुपर्ने कुनै कारण नभएको आलेको दाबी थियो ।
श्रममन्त्री श्रेष्ठले पनि अरु मन्त्रीहरुको भन्दा आफूले पनि राम्रो काम गरेको दाबी गरेका थिए । उनले तनहुँमा गठबन्धनलाई सहयोग गरेर पार्टीको इज्जत राखेको बताउँदै अहिलेको अवस्थामा आफूले थालेका धेरै काम अधुरा रहेकाले त्यसलाई पूरा गर्न पनि श्रममन्त्रीको रुपमा निरन्तरता पाउनु पर्ने दाबी गरेका थिए ।
तर माधव नेपालले यो विषयलाई वास्तै नगरी मन्त्रीहरुको हेरफेर गर्ने निर्णय गरेका थिए । एमालेबाट विभाजनपछि गठबन्धन सरकारमा सहभागी भएको नेकपा एसले ६ महिनापछि मन्त्रीहरु हेरफेर गर्ने जनाएको थियो । शुरुमै ६ महिनाका लागि भनेर पठाइएको भए पनि अहिले भने आले र श्रेष्ठले विवाद गरेका थिए ।
तत्कालीन केपी शर्मा ओलीको सरकारमा मन्त्री नपाएपछि अन्तिम समयमा माधवकुमार नेपालतिर लागेका उनीहरुले माधव नेपालसँग पनि असन्तुष्टि जनाएका छन् । सधै स्वार्थ समूहबाट परिचालित भएको हुनसक्ने भन्दै एमालेले मन्त्री आलेलाई वनमन्त्रीबाट थाहै नदिई हटाएपछि उनी रुष्ट भएका थिए । त्यसपछि माधव नेपाललाई सहयोग गरेर पार्टी विभाजनमा सहभागी भएपनि उनले पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका थिए ।
‘मन्त्रीहरु विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठले आफूहरु मन्त्रीबाट नहट्ने बताएका थिए’, एसका एक सचिवालय सदस्यले भने । एस पार्टीको सचिवालय बैठकले सबै मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नाम पठाएको थियो ।
पार्टीले नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाईसमेत जानकारी गराइसकेको छ । एकीकृत समाजवादीका एक नेताले दिएको जानकारी अनुसार अहिले राज्यमन्त्री रहेका भवानी खापुङबाहेक सबै मन्त्री फिर्ता गर्ने निर्णय भैसकेको छ ।
राज्यमन्त्री खापुङ भने स्वास्थ्य मन्त्रीका रुपमा बढुवा हुनेछन् । अन्य मन्त्रीहरूमा पर्यटनमा जीवनराम श्रेष्ठ, शहरीमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँबर मन्त्री हुने छन् । हिराचन्द्र केसीलाई भने स्वास्थ्य राज्यमन्त्री बनाइने भएको छ ।
यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी थिए ।
यसका अतिरिक्त गोविन्द शर्मालाई कानुनमन्त्री बनाइएको छ । उनी गैर सांसद हुन । त्यस्तै कुँवर पनि गैर सांसद हुन् । अछाममा एमाले नेता डा. भीमबहादुर रावललाई चुनौती दिनका लागि कुँवरलाई अघि सारिएको हो ।
पार्टी अध्यक्ष नेपाल आफैंले अन्यथा नलिई साथीहरुलाई पनि पालो दिनुपर्छ भनेपछि विरोध खतिवडाले पनि त्यसको विरोध गरेको स्रोतको दाबी छ ।
आले, श्रेष्ठ र खतिवडाले विरोध गरेपछि पार्टी अध्यक्ष नेपालले सञ्चारकर्मीहरुसँग मन्त्रीहरुको हेरफेर नियमित प्रकृया भएको बताउँदै पन्छिएका थिए । गठबन्धन दलहरुबीच प्रतिनिधि सभा चुनाव आगामी कात्तिक–मंसिरमा हुने गरी छलफल चलाइरहेका बेलामा एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेको हो ।
पार्टीभित्र मन्त्री हुन चाहनेहरुले पार्टी अध्यक्षलाई दबाब दिएपछि अध्यक्ष नेपालले पार्टीको सचिवालय बैठकमा मन्त्री हेरफेरको निर्णय गराएका थिए ।