- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको दुई गोल प्रेरित पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ को फुटबल खेलमा जित हासिल गरेको छ । आइतबार राति लिस्बोनस्थित घरेलु मैदानमा पोर्चुगलले स्वीट्जरल्यान्डमाथि ४–० ले हरायो ।
पोर्चुगलको जितमा स्टार फरवार्ड रोनाल्डोले दुई गोल गरे भने विलियम कार्भाल्हो र जोआओ कन्सेलोले समान एक एक गोल गरे । यो गोल भने रोनाल्डोले आफ्नी आमालाई समर्पण गरेका छन् ।
उनकी आमाले रोनाल्डोले लगाउने ७ नम्बरको जर्सी लगाएर रंगशालामा खेल प्रत्यक्ष हेरेकी थिइन् । उनी रोनाल्डोले गोल गरेपछि खुशीका आँशु निकालिरहेकी थिइन् ।
रोनाल्डोले यो खेलमा ह्याट्रिक गर्न सक्थे । तर उनले थुप्रै अवसर खेर फालेका थिए ।
यो नतिजासँगै समूहमा पोर्चुगल दुई खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । समान चार अंक भए पनि चेक रिपब्लिक दोस्रो स्थानमा छ । यता स्पेन समान खेलबाट दुई अंकसहित तेस्रो तथा स्वीटजरल्यान्ड बिना अंक पुछारमा छ ।
यसअघि भएको पहिलो खेलमा पोर्चुगलले स्पेनसँग १–१ को बराबरी खेलेको थियो ।
आइतबार रातिकै अर्को खेलमा स्पेन र चेकले २–२ गोलको बराबरी खेलेका छन् ।