arrow

आजदेखि बजेटमा मन्त्रालयगत छलफल, मन्त्रीहरूले दुई दिन जवाफ दिने, के गर्लान् फेरिँदै गरेका मन्त्रीहरुले ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
parliament-nepal-samsad.PNG

काठमाडौं । प्रतिनिधि सभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमा मन्त्रालयगत छलफल हुँदै छ । बिहान ११ बजेपछि छलफल गर्न बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । 

बजेटबारेको सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत छलफल हुने भएको हो । संसद् सचिवालयका अनुसार आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकाससँगै भूमि, व्यवस्था र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेठमाथि छलफल हुने कार्यसूची छ । 

सचिवालयले मन्त्रालयगत छलफलपछि विभागीय मन्त्रीहरूलाई जवाफ दिन दुई दिनको समय उपलब्ध गराउने भएको छ । जवाफ दिने दिन यही २६ र २७ जेठ तोकिएको छ । मन्त्रीहरूको जवाफपछि बजेट पारित हुनेछ । 

अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ मा संसदमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए । 

यसपालिको बजेट चुनावमुखी ल्याइएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चर्को विरोध गरेको छ । 

उसले उडन्ते शैलीमा बजेट ल्याएको भन्दै चर्को आलोचनासमेत गरेको छ । काठमाडौंबाट चितवन एक घण्टामै पुगिने उडन्ते योजना ल्याएर यो सरकारले आफ्नौ झुटको पुलिन्दा बाँधेको एमालेको आरोप छ । 

के गर्लान् नेकपा एसका मन्त्रीहरुले ? 
नेकपा एकीकृत समाजवादीका आज मन्त्रीहरु फेरिँदै छन् । चार मन्त्रालय सम्हालेका मन्त्री फेरिन लागेका हुन् । जसका कारण उनीहरुलाई मन्त्री नियुक्त हुनासाथ उक्त मन्त्रालयबाट जिम्मा लिएर बजेटबारे चर्चा गर्न गाह्रो हुनेछ । 

तर सम्बन्धित मन्त्रालयका सचिवले जवाफ तयार गर्ने भएकाले केही कठिन नहुने नेकपा एसबाट मन्त्री हुँदै गरेका एक नेताले हाम्राकुरालाई बताए । उनी भन्छन्, ‘यसमा कुनै समस्या हुँदैन । सचिवहरुले जवाफ तयार गरिदिन्छन् । अर्को कुरा मन्त्री नै उपस्थित हुनुपर्छ भन्ने पनि छैन । अर्को मन्त्रालयको मन्त्रीले जवाफ दिएको पनि पाइन्छ । त्यसै पनि गर्न सकिन्छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ