arrow

नवयुगको टोली एसिया कप छनोटमा जोर्डनसँग खेल्दै, ११ सिनियर खेलाडीहरु बाहिर हुँदा चुनौती बढी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
nepal-afc-asian-cup-2023.jpg

काठमाडौं । एएफसी एसिया कप छनोट फुटबलको तेस्रो चरणको पहिलो खेलमा नेपालले आज जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार राति १ बजे शुरु हुनेछ ।

बलियो टिमविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । तर मुख्य ११ खेलाडी बिना कुवेत पुगेको नेपाली टोलीलाई जोर्डनविरुद्ध सुखद नतिजा सजिलो छैन ।

नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी टिम बाहिर छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गते १० सिनियर खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । सुविधाका कुरा गर्दा प्रशिक्षक अलमुताइरीले खेलाडीलाई प्रशिक्षण छाड्न भनेका थिए । 

नवयुग श्रेष्ठको नेतृत्वमा रहेको युवा खेलाडीहरुको टोलीले जोर्डनविरुद्ध दवावरहित तरिकाले खेल्ने अलमुताइरीको दाबी छ । उनले प्रिम्याच कन्फ्रेन्समा हिजो भनेका थिए, ‘हामीलाई दबाब छैन । किनभने हाम्रो समूहमा हामी ४ पोर्टको राष्ट्र हौँ । यसैकारण हामीमा कुनै दबाब छैन । यस खेल नेपाली राष्ट्रिय टिमका लागि महत्वपूर्ण छ । उत्कृष्ट नतिजाका लागि हामीले केही गर्न आवश्यक छ ।’

अलमुताइरीले आफूले जोर्डनको खेल हेरेको बताउँदै अहिले टिम सन् २०२६ को विश्वकप छनोटको तयारीका लागि रहेकोसमेत बताएका छन्् ।

टिममा औसत २१ वर्षका ११ नयाँ खेलाडी रहेका छन् । पहिलो पटक नेपाली टिमको कप्तानी सम्हालेका नवयुगले जोर्डनविरुद्ध उत्कृष्ट खेल पस्कने बताए ।

उनले भनेका छन्, ‘उनीहरु हामीभन्दा बलियो भएको प्रमाणित गरिसकेका छन् । तर हामी आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछौं । सबै कुरा प्रदर्शनमा निर्भर रहन्छ ।’

कुवेत जानुअघि नेपालले कतारको दोहामा १० दिनको तयारी गरेको थियो । दोहामा नेपाली टोलीले ३ मैत्रीपूर्ण खेलसमेत खेलेको थियो ।

छनोटको समूहको दोस्रो खेलमा नेपालले जेठ २८ गरे कुवेतसँग र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ । समूहको शीर्ष टोलीले एसिया कपमा स्थान बनाउने छ । 



नयाँ