arrow

एसिया कप छनोटमा नेपाल जोर्डनसँग पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २६ बिहिबार
nepal-football-team-2079.jpg

काठमाडौं । एएफसी एसियन कप छनोट फुटबल २०२३ को तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग २–० अन्तरले पराजित भएको छ । बुधबार राति कुवेत सिटीस्थित जाबिर अल अहमद स्टेडियममा पहिलो हाफमा जोर्डनलाई रोकेको नेपालले दोस्रो हाफमा भने त्यसलाई निरन्तरता दिन सकेन । 

जोर्डनको जित अलि ओल्वन र हाम्जा अल दारदौरले एक एक गोल गरे । पहिलो हाफमा नेपालका  गोलकिपर दीप कार्कीले पेनाल्टी बचाउँदा जोर्डन दबावमा आएको थियो । 

पहिलो आधिकारिक प्रतियोगितामै शुरुआती एघारमा स्थान बनाएका दीपले खेलको ४३औँ मिनेटमा जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाएका थिए । 

जितसँगै जोर्डनले पहिलो खेलबाट ३ अंक जोडेको छ  । नेपाल बिना अंक समूह बीको पुछारमा छ । बुधबार राति नै भएको अर्को खेलमा आयोजक कुवेत इन्डोनेसियासँग १–० ले पराजित भयो । 

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले युवा खेलाडीले राम्रो प्रदर्शन गरेको बताए । यस खेलमा दीपसँगै विकास तामाङले समेत नेपालका लागि डेब्यु गरेका छन् । सेन्ट्रल ब्याक विकासले पूरा समय मैदानमा बिताएका थिए ।

अब नेपालले २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने र दोस्रो स्थानको उत्कृष्ट टिमले मात्र एसिया कप खेल्न पाउने छ । 



नयाँ