arrow

करको दरमा पुनर्विचार गरिन्छ : मेयर आचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २६ बिहिबार
dhanrajj.jpg

पोखरा । पोखराका मेयर धनराज आचार्यले राजश्वको दायरा बढाएर दर घटाउने प्रतिवद्धता जनाएका छन् । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको सम्मान र स्वागत कार्यक्रममा मेयर आचार्यले करका दरहरु अव्यवहारिक र चर्को भएको व्यवसायीहरुको गुनासो आएपछि उनले करको दर परिवर्तन गर्न आफू तयार रहेको स्पष्ट पारे । उनले पोखरामा जग्गाको मूल्याङ्कनमा पुनर्विचार गर्ने पनि स्पष्ट पारे । 

साथै मेयर आचार्यले चुनावमा गरिएका प्रतिवद्धताहरु पूरा गरेरै छाड्ने स्पष्ट पार्दै पोखरावासीको दैनिक जीवनयापन सजिलो र सस्तो बनाउने योजना रहेको बताए । 

आचार्यले पोखरा महानगरको सबैभन्दा ठूलो चुनौति नै सुशासन कायम गर्नु रहेको भन्दै अबका केही दिनभित्रै महानगरले एउटै ढोकाबाट सबै सुविधा दिने र सुशासनका सबै सूचाङ्कहरु पालना गरिने बताए ।

पोखराको ट्राफिक व्यवस्थापनको योजना बनिरहेको भन्दै उनले वरपरका गाउँपालिकाको विकासमा पनि महानगरले सहयोग गर्ने प्रतिवद्धता जनाए । 

मादी गाउँपालिकाका प्रमुख देवीजंग गुरुङले मादीले कृषि र पर्यटनको माध्यमबाट समृद्धिको परिकल्पना गरेको भन्दै सो क्षेत्रको कृषि र पर्यटनमा लगानी गर्न व्यवसायीलाई आग्रह गरे ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँपालिकाले भूमि बैंक स्थापना गरेको र त्यही बैंकमार्फत कृषि कर्म गर्न चाहने व्यवसायीलाई जग्गा उपलब्ध गराउने जनाए ।

पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखरामा बनाउने भनिएको चक्रपथलाई नै ट्राम चल्ने खालको बनाउनुपर्नेमा जोड दिए ।  ट्राम भनेको शहरी क्षेत्रमा चल्ने रेल नै हो ।

संघीय सरकारको बजेट वक्तव्यमा पोखरासहितका नगरमा ट्राम संचालनको सम्भाव्यता खोजिने उल्लेख गरिएको छ । मादी करिडरले सो क्षेत्रको सम्भावनाको ढोका खोल्ने भएकाले करिडोर निर्माणमा सहजीकरण गर्न जनप्रतिनिधिहरुसँग आग्रह गरे । पोखरा महानगर सुशासनमा अब्बल बन्नुपर्ने, यहाँको प्रदुषण घटाउनेतिर लाग्नुपर्ने  तथा आर्थिक सामथ्र्य बढाउने काम हुनुपर्ने उनको जोड थियो । 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले पोखरामा सम्पत्ति कर अन्य पालिकाको भन्दा महँगो भएको गुनासो गरे । उनले लगानी मैत्री वातावरण निर्माण,कृषिको व्यावसायिकरणमा लाग्न जनप्रतिनिधिहरुलाई सुझाए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले पोखरा महानगरले एउटै ढोकाबाट कर तिर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । 

फुटपाथको अनधिकृत व्यवसाय रोकिनुपर्ने, ट्राफिक व्यवस्थापन हुनुपर्ने,महानगरले प्रविधिमा आधारित रहेर नागरिकलाई सेवा प्रवाह गर्नुपर्नेमा उनको जोड थियो ।

पोखरा-४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ्ने प्रतिवद्दता जनाए । 

कार्यक्रममा पोउवासंघका उपाध्यक्ष गोकर्ण कार्की र महासचिव सुरेन्द्रमान विजुक्छेले पनि बोलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ