arrow

महिलालाई आगो लगाएर जलाउने खडायतलाई प्रहरीले गर्‍यो सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २७ शुक्रबार
AAGO-JALAUNE-PAKRAU.jpg

दार्चुला । बुधवार दार्चुलाको शैल्यशिखर नगरपालिका-१ बारीलकी ४५ वर्षीया अनिभा खडायतको आगोमा जलाएर हत्या गरी फरार रहेका सोही ठाउँका भोजराज खडायत पक्राउ परेका छन् । 

फरार प्रतिवादी खडायतलाई बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका-३ खोचलेकबाट बिहीबार पक्राउ गरी आज (शुक्रवार) पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । आफ्नै घरबाट ५० मिटर टाढा उखु बारीमा खरको थुप्रोमा जलेको अवस्थामा गत बुधवार अनिभाको शव फेला परेको थियो । 

भोजराजले ती महिलालाई घरबाट बोलाई बारीमा लगेको र करणी गर्ने विषयमा उनीहरूबीच विवाद हुँदा ढुङ्गा हानी घरतर्फ जाँदै गर्दा मृतककी छोरीले देखेकोले आफ्नो पोल खुल्ने डरले पुनः घटनास्थल गई खरले छोपी आगो लगाई घटनास्थलबाट भागी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए । उनलाई पक्राउ गर्न दार्चुला, गोकुलेश्वर र बैतडीबाट सुरक्षा टोली खटिएको थियो । 

साथै खडायतको साथबाट अनिभाले कानमा लगाएको सुनको बाली २ थान र नाकमा लगाएको नथियाँ १ थान समेत प्रहरीले बरामद गरेको छ । 

उनी उपर जबरजस्ती करणी, ज्यान सम्बन्धी कसुर र डाँका चोरी शीर्षक मुद्धामा जिल्ला अदालत दार्चुलाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जनाइएको छ । 

यस घटनामा अन्य थप दुई जनालाई नियन्त्रण लिएर उनीहरुविरुद्ध अभद्र कसुर अन्तर्गत म्याद थप भएकोसमेत प्रहरीले जनाएको छ । खडायतले आफैले अनिभाको हत्या गरेको स्वीकारेका छन् । उनी चमेलिया हाइड्रो पावरका सुरक्षा गार्ड हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ