arrow

जरुरी सार्वजनिक महत्वको विषयमाथिको छलफल सकियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
Parliament_building.png

काठमाठौं । प्रतिनिधि सभाको आजको बैठक अहिले आधा घण्टाका लागि स्थगित भएको छ । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईद्वारा संसद्मा प्रस्तुत जरुरी सार्वजनिक महत्वको विषयमाथि सांसदहरुले बोल्नेक्रम सकिएपछि सभामुख सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद पूर्णकुमारी सुवेदी विगतदेखि नै पहल हुँदै आए पनि मलको आपूर्तिको समस्या कायमै रहेको बताएकी थिइन् । 

उनले अर्गानिक खेती र अर्गानिक मल उद्योगको विषयमा कृषि समितिमा समेत आवाज उठेको स्मरण गराउँदै तत्कालीन समस्या भनेको जिटुजिमार्फत किसानको खेतमा मल पुग्ने वातावरण बनाउनु रहेको बताए । 

एक देशबाट मात्रै मल ल्याउँदा समस्या भएकाले अर्काे मुलुकबाट आउने नाका पनि खुला गर्न उनले सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद शक्तिबहादुर बस्नेत मुलुकको विभिन्न परिस्थितिका कारण मुलुकमा सधैँ नै मल अभाव हुँदै आएको र समस्या समाधानका लागि हरित अर्थतन्त्र नै महत्वपूर्ण भएको बताए ।

उनले तत्कालका लागि सुशासनलाई ध्यान दिनुपर्नेमा जोड दिए । टेन्डरदेखि नै कार्टेलिङ हुने गरेको जानकारी गराउँदै यो समस्या कृषि मन्त्रीबाटै पनि समाधान हुन नसक्ने भएकाले प्रधानमन्त्रीस्तरबाटै उच्चस्तरीय संवाद जरुरी रहेको बताए ।

सांसद महेश बस्नेत फोहरलाई कम्पोष्ट मलका रुपमा रुपान्तरण गर्ने योजना ल्याउनुपर्ने आवश्यकता औँल्याए । उनले नीतिगत सुधारदेखि मन्त्रीको व्यवहार सुधार हुनु जरुरी रहेको पनि बताए ।
 
सांसद देवप्रसाद तिमिल्सिनाले किसानलाई मलखाद दिनुपर्ने कुरा सदनमा पटकपटक उठाउँदै आएको भए पनि समस्या समाधान हुन नसकेको स्मरण गरे । रासस



नयाँ