arrow

विवादमा अर्थमन्त्री, एमालेले संसदमा छलफल गर्नै मानेन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
parliament-uml-2079.jpg

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा आएका छन् । पटक पटक विवादित हुँदै आएका शर्माले बजेट बनाउने बेलामा गरेको चलखेलपछि उनी विवादमा आएका हुन् । 

बजेट निर्माणको अन्तिम दिन अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई राजस्वका दर हेरफेर गरेको विषयबारे अन्नपूर्ण पोस्ट दैनिकले सोमबार खुलासा गरेपछि शर्मा थप विवादमा तानिएका हुन् । 

यसअघि पनि पदीय मर्यादा बिर्सेर विभिन्न विवादास्पद काम गरेपछि उनी आलोचित बनिरहेका छन् । अर्थमन्त्री शर्माको विवादका कारण फेरि अर्थ मन्त्रालय बारेमा छलफल नगर्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध गरेको छ । 

‘अर्थमन्त्रीज्यूको काम क्रियाकलापप्रति विवाद आइरहेका बेलामा अब अर्थमन्त्रीको कार्यक्रममा सहभागी नहुने’ मंगलबार बिहान प्रतिनिधि सभामा नेकपा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी गराए । त्यसपछि एमालेका सांसदहरु सिटबाट उठेका थिए । आफ्नो ध्यानाकर्षण भएको भनी सभामुख अग्निप्रसाद सापकोटाले भनेसँगै एमालेका सांसदहरु सिटबाट बसेर संसदमा भाग लिएका छन् । 

कार्यक्रममा सहभागीता जनाउँदै नेमकिपाका सांसद प्रेम सुवालले अर्थ मन्त्रालयभित्र बजेटको अघिल्लो रात विदेशी चार्टर्ड एकान्टेन्ट आएको भन्ने जानकारी पाएको भन्दै यसको पूर्ण सूचना नआएसम्म कामकारबाही नै अगाडि बढाउन नमिल्ने बताएका छन् । 

अहिले विनियोजन विधेयकबारे मन्त्रीहरुले जवाफ दिने क्रम जारी रहेको छ । युवा तथा खेलकुद मन्त्रीको तर्फबाट शिक्षा मन्त्री देवेन्द्र पौडेलले जवाफ दिएका छन् । 

विवादमा फसेका खेलकुद मन्त्री महेश्वरजंग गहतराज भने रुसतिर लागेका छन् । आठ जनाको जम्बो टोली लिएर उनी बक्सिङको कार्यक्रम लिएर रुस गएका हुन् । 

रुसको युक्रेनमाथिको आक्रमणको विरोध गरेको नेपाल सरकारको विरोधलाई छायाँमा पार्दै उनी रुस गएका हुन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ