काठमाडौं । प्रतिनिधि सभामा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी छ ।
प्रतिनिधि सभाको आजको बैठकमा युवा तथा खेलकुद, सहरी विकास, कृषि तथा पशुपक्षी विकास, शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, परराष्ट्र, खानेपानी, अर्थ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीले जवाफ दिनुहुने कार्यसूची रहेको छ ।
बैठकमा युवा तथा खेलकुद मन्त्रीका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सांसदका जिज्ञासाको जवाफ दिँदै युवालाई स्वदेशमै रोजगारी दिने विषय साझा विषय भएको र यसमा विभिन्न मन्त्रालयअन्तर्गत धेरै कार्यक्रम रहेको बताए । साथै उनले बजेटमा भएका एक विद्यालय एक मैदानलगायत कार्यक्रम यसै आर्थिक वर्षदेखि सुरु हुने बताए ।
उनले नर्सिङ पढाइलाई अझै स्तरीय बनाउन नयाँ मापदण्ड लागू गरिएको स्पष्ट पारे । सो विषयका सम्बन्धमा सांसद बिमला विश्वकर्मा, डिला सङ्ग्रौला पन्त, प्रेम सुवाल, मनकुमारी जिसी, सरिताकुमारी गिरी, रेनुका गुरुङ, मीना सुब्बा, मैनाकुमारी भण्डारीले स्पष्टिकरण माग गरेका थिए । रासस