arrow

विश्व बैंककी प्रबन्ध निर्देशक नेपालको समावेशी बजेटप्रति खुशी, अर्थमन्त्री शर्माले गरे सहयोगको प्रशंसा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
world-bank-managing-director-mari-janardan-sharma.jpg

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आइतबार शिष्टाचार भेटवार्ता गरेकी छिन् । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरे । 

“नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाका रूपमा रहिआएको छ”, भेटमा उनले भने । विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १२२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिएका थिए । पछिल्लो समय नेपालका लागि विश्व बैंकको वित्तीय सहयोग उल्लेखनीयरूपमा बढ्दै गएको छ ।

सन् १९६९ मा १६।९ लाख अमेरिकी डलरको वित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य शुरु भएको थियो । विश्व बैंकसँग हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य भएको छ । केही महत्वपूर्ण आयोजना सम्झौताको चरणमा रहेको र हाल सञ्चालित आयोजना निक्कै महत्वपूर्ण र दूरगामी प्रकृतिको रहेको मन्त्री शर्माले बताए ।

“विश्व बैंकसँगको वित्तीय सहकार्यमा सञ्चालित आयोजना समयमै सम्पन्न गरी सोको लाभ जनतालाई हस्तान्तरण गर्न हामी सबैको प्रयास रहनेछ”, मन्त्री शर्माले भने । सो अवसरमा आर्थिक वर्ष २०७९–०८० को बजेट मूलतः आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भएको उनले जानकारी गराएका थिए ।

 “मैले भर्खर प्रस्तुत गरेको बजेटका माध्यमबाट अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ लाने गरी प्रस्थान बिन्दुका रुपमा उल्लेख गरेको छु”, उनले भने । 

सो अवसरमाा विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले बजेट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएकामा खुशी लागेको बताइन् । उनले नेपालको विकास साझेदारका रुपमा सहभागी हुन पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा पनि वित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पुर्याउने जानकारी गराएकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ