arrow

कस्ले जित्ला शुभकामना गोल्डकप ? फाइनलमा एभिनियर र हेम्जा भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ११ शनिबार
hemja.jpg

पोखरा । पोखरामा जारी छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण शुभकामना गोल्डकप फुटबलको फाइनलमा क्यामरुनी क्लव एभिनियर र हेम्जा युनाइटेड आज भिड्दैछन् । हेमजा युनाइटेडको आयोजनामा पोखराको हेमजास्थित गौरीशंकर खेलमैदानमा आज शनिबार उपाधिका लागि आयोजक र एभिनियरबीच भिडन्त हुँदैछ । 

हेमजाले सेमिफाइनलमा खुमलटार युथ क्लबलाई २-० गोलले हराउँदै फाइनल प्रवेश गरेको हो भने एभिनियरले चर्च ब्वाइज क्लबलाई २-१ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । 

आयोजक हेमजा युनाइटेडका प्रशिक्षक सुवर्णजंग कार्कीले आफूहरुले एभिनियर क्लवसंग नै फाइनल खेल्न चाहेको प्रतिक्रिया दिए । उनले एभिनियर विदेशी टिम भएकाले आफूहरुलाई खेल जित्न भन्दा पनि खेलमा अनुभव लिनु ठूलो कुरा रहेको बताए । 

‘खेलमा हार जित त हुन्छ नै । हामी पनि जितेरै यहाँसम्म आइपुगेका हौँ । तर, एभिनियरसंग खेल्नु भनेको हाम्रो लागि नयाँ हो । हामीले विदेशी टिमसंग खेल्ने अनुभव घरमै लिने अवसर प्राप्त गरेका छौँ’, उनले भने । एभिनियर शारीरिकरुपमा बलियो रहे पनि आफूहरु त्यसका लागि तयार अवस्थामा रहेको सुनाए । 

हेमजाका खेलाडी कमल थापा मगरले आफूहरु जित्नका लागि खेल्ने बताए । उनले टिम राम्रो रहेकाले सोही अनुरुप खेल प्रदर्शन गर्ने बताए । 

एभिनियरका प्रशिक्षक आशिक थापा मगरले फाइनल खेल बराबरीको हुने प्रतिक्रिया दिए । ‘फाइनल खेल हो, सजिलोरुपमा हेर्न भएन । खेलमा हार जित त हुन्छ । हामीले पनि खेल्ने नै हो’, उनले भने, ‘हेम्जा पनि राम्रो टिम छ । हामी पुरानै फर्मेसनमा खेल्छौँ । हाम्रा केही खेलाडीले फाइनल गुमाउने हुँदा हामीलाई अलिकति प्रभाव भने पर्ने नै छ ।’

एभिनियरका गोलरक्षक तथा कप्तान कोभास्सिले फाइनलका लागि योजना बनाएर खेल्ने बताए । उनले आफूहरु जित्नका लागि आएको र फाइनल खेल उचाल्न भरपुर मिहेनत गर्ने बताए । 

असार असार ४ गतेदेखि शुरु भएको प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभागीय क्लव एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड सहभागी भएको थियो । 

प्रतियोगिताको विजेताले छ लाख, उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  यसैगरी सर्वोत्कृष्ट खेलाडीले ५० हजार, सर्वाधिक गोलकर्ताले २५ हजार, उत्कृष्ट डिफेन्डर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।



नयाँ