काठमाडौं । मन्त्री हेरफेर गर्न नसकेर विवादित बनेको नेकपा एकीकृत समाजवादी (एस) आफ्नो निर्णयबाट पछि नहट्ने प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् । आइतबार एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रवक्ता खतिवडाले भने, 'सरकार ढले ढलोस् । पार्टी आफ्नो निर्णयबाट ब्याक हुँदैन अहिले जे नाम पठाएको छ, त्यही गर्नुपर्छ । यसमा तलमाथि हुँदैन ।?'
एसले मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ नगर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएको छ ।
खतिवडाले मन्त्रिमण्डलमा प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई पर्खिए पनि अब नपर्खिने बताए । 'तत्काल हाम्रो काम पूरा गर्नुहोस् । नयाँ मन्त्रीलाई शपथग्रहण गराउने काममा लाग्नुहोस्।'
नेता खतिवडाले मन्त्री हेरफेरमा आफ्नो तर्फबाट कुनै समस्या नरहेको बताए ।
शनिवार बसेको समाजवादीको चौथो केन्द्रीय कमिटीको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले पारित गरेको छ ।
बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तर मन्त्री भने फेरिएका छैनन् ।