arrow

नेकपा एसका चार मन्त्रीको शपथ ११ बजे, पहिले सिलाएको दौरा सुरुवाल आज लगाउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
sital-niwas-new-pic.jpg.jpeg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरूले आज शपथ लिँदै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज चार मन्त्री र एक राज्यमन्त्रीले शपथग्रहण गर्दैछन् । 

शपथका लागि बिहान ११ बजे राष्ट्रपति कार्यालयमा बोलाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी तोकिएका मन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए । आइतबार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्य विभाजन तोकेकी थिइन् । 

एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाएको हो । गत शनिबार बसेको केन्द्रीय समितिको बैठकले मन्त्री फिर्ता बोलाउने सचिवालय बैठकको निर्णयलाई पारित गरेको थियो ।

यसअघि नै मन्त्री हेरफेरको निर्णय पार्टी अध्यक्ष माधवकुमार नेपालले नयाँ मन्त्रीहरूको नामसहित प्रधानमन्त्री देउवालाई पठाएका थिए । पटक पटक निर्णय गरे पनि पुराना मन्त्रीले पद नछोडेपछि नयाँ मन्त्री थप्ने प्रक्रिया अघि बढ्न सकेको थिएन ।  

गत जेठ २२ गते चार जनालाई मन्त्री बनाउने निर्णय भएसँगै प्रधानमन्त्री देउवालाई नामावली पनि पठाइएको थियो । ती नामहरु राष्ट्रपति कार्यालयमा पुगेको पनि बताइयो । तर राष्ट्रपति कार्यालयले शपथका लागि कुनै सम्पर्क नै गरेन । 

मन्त्री बनेकाहरु निश्चित भएर २३ गते कतिबेला राष्ट्रपति कार्यालयबाट शपथका लागि फोन आउँछ भनी प्रतिक्षा गरिरहे । दौरा सुरुवाल तयार पारेर राखे । तर राष्ट्रपति कार्यालयबाट कुनै फोन नै आएन । 
उनीहरु निराश भए । 

२२ गते नै निवर्तमान मन्त्रीहरु आक्रोशित भएर कहिले प्रधानमन्त्री देउवालाई धम्की दिन थाले त कहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर कुर्सी बचाइदिनु पर्यो भनेर भेट्न गए । 

अन्ततः त्यो दिन थामियो । प्रचण्डलाई पनि लाग्यो कि उनले यिनीहरुलाई फिर्ता बोलाइयो भने आफ्नो पार्टीमा पनि चर्चा छ वाध्य हुनु पर्नेछ । 

तर नेकपा एसमा केही सीप लागेन । चार मन्त्रीले क्याम्पेनसमेत चलाए । १० सांसदले संसदीय दलको बैठकसमेत बोलाउन आह्वान गरे । आफूहरुले राम्रो काम गरिरहेको दाबी गर्दै कहिले नरम त कहिले गरम भए । 

केही सीप नलागेपछि राष्ट्रिय सभाबाट समेत बजेटका विषयमा उनीहरुले मन्त्रालयगत जवाफ दिएपछि आफ्नो कार्यकाल टुंग्याउन वाध्य भए । 

पुराना अनुहार फेरिए । आजदेखि नयाँ अनुहार आए । नयाँ मन्त्रीहरूमा जीवनराम श्रेष्ठ (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय), मेटमणि चौधरी (शहरी विकास मन्त्रालय), भवानीप्रसाद खापुङ (स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, यसअघि राज्यमन्त्री थिए) र शेरबहादुर कुँवर (श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय) हुन् त्यसैगरी राज्यमन्त्रीमा हिराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय रहेका छन् । यिनीहरु आज बिहान ११ बजे गत महिना नै सिलाएर तयार राखेको दौरा सुरुवाल लगाएर राष्ट्रपति कार्यालय जानेछन् । 

समाजवादीका मन्त्रीहरू पर्यटनमन्त्री प्रेम आले , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमार झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ फिर्ता भएका छन् । 


 



नयाँ