arrow

नेकपा एसबाट सहभागी नवनियुक्त मन्त्रीहरुले लिए शपथ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
new-ministries-ncp-as-2079-03-13.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट हेरफेर भएका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बिहान शपथ ग्रहण गराएकी हुन् ।

जसअनुसार जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, मेटमणि चौधरी शहरी विकास, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम रोजगार तथा सामाजिक सुरक्षा र हिराचन्द्र केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएसँगै पाँचै जनाले शपथ ग्रहण गरेका हुन् ।

राज्यमन्त्री केसीलाई भने प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराए । 

खापुङ भने यसअघि स्वास्थ्य राज्यमन्त्री थिए । उनको पदोन्नति हुँदा पर्यटनमन्त्री प्रेम आले , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमार झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ फिर्ता भएका छन् । 

शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति भण्डारी‚ उपराष्ट्रपति नन्दकिशोर पुन‚ प्रधानमन्त्री शेरबहादुर देउवा‚ सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति थियो ।

समाजवादीको सचिवालय बैठकले गत जेठ २२ गते नै मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो । तर पटक पटक निर्णय गरे पनि पुराना मन्त्रीले पद नछोडेपछि नयाँ मन्त्री थप्ने प्रक्रिया अघि बढ्न सकेको थिएन ।  

गत जेठ २२ गते चार जनालाई मन्त्री बनाउने निर्णय भएसँगै प्रधानमन्त्री देउवालाई नामावली पनि पठाइएको थियो । ती नामहरु राष्ट्रपति कार्यालयमा पुगेको पनि बताइयो । तर राष्ट्रपति कार्यालयले शपथका लागि कुनै सम्पर्क नै गरेन । 

मन्त्री बनेकाहरु निश्चित भएर २३ गते कतिबेला राष्ट्रपति कार्यालयबाट शपथका लागि फोन आउँछ भनी प्रतिक्षा गरिरहे । दौरा सुरुवाल तयार पारेर राखे । तर राष्ट्रपति कार्यालयबाट कुनै फोन नै आएन । उनीहरु निराश भए । 

२२ गते नै निवर्तमान मन्त्रीहरु आक्रोशित भएर कहिले प्रधानमन्त्री देउवालाई धम्की दिन थाले त कहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर कुर्सी बचाइदिनु पर्यो भनेर भेट्न गए । 

अन्ततः त्यो दिन थामियो । प्रचण्डलाई पनि लाग्यो कि उनले यिनीहरुलाई फिर्ता बोलाइयो भने आफ्नो पार्टीमा पनि चर्चा छ वाध्य हुनु पर्नेछ । 

तर नेकपा एसमा केही सीप लागेन । चार मन्त्रीले क्याम्पेनसमेत चलाए । १० सांसदले संसदीय दलको बैठकसमेत बोलाउन आह्वान गरे । आफूहरुले राम्रो काम गरिरहेको दाबी गर्दै कहिले नरम त कहिले गरम भए । 

केही सीप नलागेपछि राष्ट्रिय सभाबाट समेत बजेटका विषयमा उनीहरुले मन्त्रालयगत जवाफ दिएपछि आफ्नो कार्यकाल टुंग्याउन वाध्य भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ