अब माओवादी, एमाले, समाजवादीको बिउहरू उम्रँदैनन् : घनश्याम भुसाल
'कम्युनिष्ट फुटेर, आफ्नै घरमा आगो लगाएर, त्यही आगोमा आङ सके'
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
638
Shares
काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिष्टहरुको हाइब्रिड बिउ उत्पादन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।
राजधानीको एक कार्यक्रममा भुसालले प्रचण्डले एमालेमा माओवादीमा बिउ झरेर आएको भन्नु गलत भएको बताए ।
अब कुनै पार्टीको बिउ नभै समग्रमा कम्युनिष्टहरुको हाइब्रिड बिउ उत्पादन गर्नुपर्ने नेता भुसालको भनाई छ ।
भुसालले भने,' कमरेड प्रचण्डले कहीँ भन्नुभएछ, हामीले एमालेमा बिउ रोपेका छौँ, हेर्नुहोला दुई तीन वर्षमा फल्छ भनेर । तर आजको आवश्यकतालाई उहाँले अझै राम्ररी बुझ्नुभएन । माओवादीको बिउ, नेकपा एमालेको बिउ, समाजवादीको बिउ, कमरेड सिपीको बिउ, कमरेड फलानाका बिउ..अब यी बिउहरू उम्रँदैनन् ।'
उनले नेपालमा कम्युनिष्ट पार्टीहरू कमजोर अवस्थामा पुगेको बताएका छन् । उनले भने,' कम्युनिष्ट फुटेर, आफ्नै घरमा आगो लगाएर, त्यही आगोमा आङ सकेर, एकर्कामा गाली गरेर हामीले आज धेरै नराम्रो काम गरेका छौँ । कम्युनिष्ट आन्दोलनमा यो राम्रो काम भा छैन ।'