- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट बस्दैछ । कांग्रेस पार्टी मुख्यालय वीपीनगर सानेपामा बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बोलाइएको छ ।
बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षासँगसँगै आगामी चुनावका बारेमा पनि छलफल हुने बताइएको छ । विविधअन्तर्गत समसामयिक विषयमा केन्द्रीत हुनेसमेत पार्टीले जनाएको छ ।
संस्थापन र इतरबीच चर्काचर्की हुने सम्भावना
यो बैठकमा पार्टीको आन्तरिक किचलोबारे समीक्षा हुने अपेक्षा गरिएको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी शैलीमा पार्टी चलाएको भन्दै डा. शेखर कोइराला समूह आक्रोशित छ । कोइराला पक्षले भ्रातृ संघहरुले पूर्णता नपाएको र नेतृत्वमा देउवा निकटले मात्र स्थान पाएको आरोप लगाएको छ ।
यसकै लागि आइतबारमात्रै कोइराला समूहका नेताहरुले एजेन्डा तय गरेका छन् । उनीहरुले यसपालि बैठकमा ब्यापकरुपले छलफल गर्ने जनाएका छन् । बैठकमा सरकारको काम कारबाहीसँगै दलगत समीक्षा गर्ने एजेन्डा तय गरिएको छ ।
यसअघि नै कोइराला समूहले सभापति देउवा कांग्रेसको सभापति बन्न नसकेको आरोप लगाएको थियो । सो समूहले देउवा पाँच दलीय गठबन्धनको सभापति बन्न खोजेको आरोप लगाएको छ । अर्थात् देउवाले पार्टीलाई वास्ता नै नगरेको आरोप कोइराला समूहको हो ।
त्यसैगरी पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले बैठकमा सरकारको कामकारबाहीबारे गम्भीर समीक्षासमेत गरिने भएको छ ।
समग्रमा कोइराला समूहले देउवामाथि दबाब बढाउने छ ।
यसैगरी स्थानीय तह निर्वाचनको समेत समीक्षा गरी आगामी मंसिरमा हुने भनिएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको हितमा हुनेगरी गठबन्धनलाई थप सशक्त बनाउने विषयमा पनि सशक्त रूपमा अघि बढ्ने निर्णय भएको बताइएको छ ।
‘कांग्रेसलाई कसरी बलियो बनाउने, आगामी चुनावमा पार्टीलाई कसरी अघि बढाउने, विधिविधानको पालनामा कसरी अघि बढ्नेसहित स्थानीय तहको निर्वाचनको समीक्षा र सरकारको कामको पनि समीक्षा केन्द्रीय समिति बैठकमा गर्ने भन्ने विषयमा छलफल भएको सहभागी एक नेताले बताए ।
सो बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यहरु डा रामशरण महत, अजयबाबु शिवाकोटीलगायत सहभागी भएका थिए ।
संस्थापन समूहले भने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी निर्वाचनको विषयलाई एजेन्डा बनाएको छ । स्थानीय तहको निर्वाचन सकिएको दुई महिना पुग्नैलाग्दामात्र स्थानीय तह निर्वाचनको समीक्षा हुन लागेको हो ।
केन्द्रीय सदस्यहरुले आफ्नो जिम्माको जिल्लाका बारेमा पनि रिपोर्टिङ गर्ने बुझिएको छ ।