यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक सदनमा पेश, छलफल जारी
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
968
Shares
यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक सदनमा पेश, छलफल जारी
काठमाडौं । प्रतिनिधि सभा बैठकमा यौन हिंसा विरुद्धको केही ऐन संशोधन गर्ने विधेयक सम्बन्धित समितिको प्रतिवेदन पेश भएको छ । कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले उक्त प्रतिवेदन सोमबारको बैठकमा पेश गरेका हुन् ।
समितिको बैठकले बलात्कार मुद्दामा हदम्याद बढाउने निर्णय गर्दै ऐन संशोधनको लागि प्रस्ताव गरेको थियो । यौन हिंसा विधेयकमार्फत हदम्याद बढाउन लागिएको हो ।
त्यसपछि कानूनमन्त्री गोविन्द कोइरालाले छलफलका लागि संसदमा प्रस्ताव पेश गरेका थिए । उक्त विधेयक छलफलका लागि पेश गरेपछि उक्त प्रस्ताव पारित भएको छ । अहिले छलफल जारी छ ।
मुलुकी फौजदारी संहिताको दफा २२९ को संशोधन गरेर हदम्याद बढाउन लागिएको हो । बलात्कार मुद्दामा हदम्याद नाघेर दिइएको उजुरीमाथि कारबाही नहुने व्यवस्था संशोधन गर्न लागिएको हो ।
समितिको सहमति अनुसार अब नाबालिका बालिक भएको उमेर तीन वर्षसम्म पनि उजुरी गर्न पाइनेछ भने बालिकको हकमा दुई वर्षसम्म उजुरी गर्न पाइनेछ ।
यसअघि बलात्कार सम्बन्धी मुद्दामा हदम्याद हटाउन प्रतिनिधि सभामा र राष्ट्रियसभामा सङ्कल्प प्रस्ताव दर्ता भएको थियो ।