- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबारबाट शुरु भएको छ । कांग्रेस पार्टी मुख्यालय वीपीनगर सानेपामा दिउँसो १ बजेदेखि बस्ने भनिएको बैठक करिब डेढ घण्टा ढिला गरी शुरु भएको हो ।
बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा सँगसँगै नयाँ भ्रातृ संघ एवं शुभेच्छुक संस्थाको मान्यताका बारेमा छलफल हुँदैछ । त्यसैगरी विविध भनेर विभिन्न समसामयिक विषयहरु पर्नेछन् ।
यस्तो छ एजेन्डा–
विशेषगरी दुई वटा बैठकका प्रस्तावहरु रहेका छन् । जसमा पहिलो नम्बरमा स्थानीय तह निर्वाचन २०७९ को समीक्षा हुनेछ । जसमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक एवं पार्टीका उपसभापति पूर्णबहादुर खड्काले समितिको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
त्यस्तै स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले समितिको प्रस्तुत गर्नेछन् ।
दोस्रो नम्बरमा नयाँ भ्रातृ संघ एवं शुभेच्छुक संस्थाको मान्यता सम्बन्धमा छलफल हुनेछ । कांग्रैसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (क) बमोजिम (१) नेपाल आदिवासी जनजाति महासंघ (२) नेपाल थारु संघलाई नेपाली कांग्रेसको भ्रातृ संघको मान्यता प्रदान गर्ने रहेको छ ।
त्यस्तै कांग्रेसको विधानअनुसार नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, नेपाल लोकतान्त्रिक आयुर्वेद तथा प्राकृतिक चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ, नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी संघ, नेपाल लोकतान्त्रिक भूतपूर्व कर्मचारी संघ र नेपाली लेखक संघ गरी ११ शुभेच्छुकलाई नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको मान्यता प्रदान गर्ने रहेको छ ।
त्यस्तै पार्टीबाट मान्यता प्राप्त उल्लेखित भ्रातृ संघ र शुभेच्छुक संस्थाको विधानलाई केन्द्रले अध्ययन गरी अन्तिम रुप प्रदान गर्ने प्रस्ताव रहेको छ ।
तेस्रो नम्बर बुँदाको प्रस्तावमा विविध समेटिएको छ । यसमा समसामयिक विषय समेटिने छन् ।
संस्थापन र इतरबीच चर्काचर्की हुने सम्भावना
यो बैठकमा पार्टीको आन्तरिक किचलोबारे समीक्षा हुने अपेक्षा गरिएको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी शैलीमा पार्टी चलाएको भन्दै डा शेखर कोइराला समूह आक्रोशित छ । कोइराला पक्षले भ्रातृ संघहरुले पूर्णता नपाएको र नेतृत्वमा देउवा निकटले मात्र स्थान पाएको आरोप लगाएको छ ।
यसकै लागि आइतबारमात्रै कोइराला समूहका नेताहरुले एजेन्डा तय गरेका छन् । उनीहरुले यसपालि बैठकमा ब्यापकरुपले छलफल गर्ने जनाएका छन् । बैठकमा सरकारको काम कारबाहीसँगै दलगत समीक्षा गर्ने एजेन्डा तय गरिएको छ ।
यसअघि नै कोइराला समूहले सभापति देउवा कांग्रेसको सभापति बन्न नसकेको आरोप लगाएको थियो । सो समूहले देउवा पाँच दलीय गठबन्धनको सभापति बन्न खोजेको आरोप लगाएको छ । अर्थात् देउवाले पार्टीलाई वास्ता नै नगरेको आरोप कोइराला समूहको हो ।
त्यसैगरी पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले बैठकमा सरकारको कामकारबाहीबारे गम्भीर समीक्षासमेत गरिने भएको छ ।
समग्रमा कोइराला समूहले देउवामाथि दबाब बढाउने छ ।
यसैगरी स्थानीय तह निर्वाचनको समेत समीक्षा गरी आगामी मंसिरमा हुने भनिएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको हितमा हुनेगरी गठबन्धनलाई थप सशक्त बनाउने विषयमा पनि सशक्त रूपमा अघि बढ्ने निर्णय भएको बताइएको छ ।
‘कांग्रेसलाई कसरी बलियो बनाउने, आगामी चुनावमा पार्टीलाई कसरी अघि बढाउने, विधिविधानको पालनामा कसरी अघि बढ्नेसहित स्थानीय तहको निर्वाचनको समीक्षा र सरकारको कामको पनि समीक्षा केन्द्रीय समिति बैठकमा गर्ने भन्ने विषयमा छलफल भएको सहभागी एक नेताले बताए ।
सो बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यहरु डा रामशरण महत, अजयबाबु शिवाकोटीलगायत सहभागी भएका थिए ।
संस्थापन समूहले भने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी निर्वाचनको विषयलाई एजेन्डा बनाएको छ । स्थानीय तहको निर्वाचन सकिएको दुई महिना पुग्नैलाग्दामात्र स्थानीय तह निर्वाचनको समीक्षा हुन लागेको हो ।
केन्द्रीय सदस्यहरुले आफ्नो जिम्माको जिल्लाका बारेमा पनि रिपोर्टिङ गर्ने बुझिएको छ ।