arrow

मंगलबार पनि बस्दै कांग्रेस बैठक, क–कसले बोले पहिलो दिन ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
congress-central-committee-meeting-2079-03-27.jpg

काठमाडौं । सोमबारदेखि शुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पनि बस्ने भएको छ । केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा मंगलबार दिउँसो १ बजे पुनः बस्ने भएको हो ।

सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ । बैठकको पहिलो दिन सातवटै प्रदेशका पार्टी सभापतिले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका छन् । 

बैठकमा भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत विविध अजेण्डामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुनेछ ।

केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ७ मिनेटको समय छुट्टाइएको छ । 

सोमबारको बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको प्रस्तावहरु र पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रसार–प्रसार समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

बैठकमा केन्द्रीय सदस्यहरु— डा शेखर कोइराला, प्रदीप पौडेल, देवेन्द्रराज कँडेल, डा डिला संग्रौला, कृष्णकिशोर घिमिरे, नारायणबहादुर कार्की, तारामान गुरुङ, दिनेशकुमार यादव, नैनसिंह महर, गुरु बराल, दिनेश कोइराला र आमन्त्रित प्रदेश सभापतिहरु— उद्धव थापा, कृष्णप्रसाद यादव, इन्द्रबहादुर बानियाँ, शुक्रराज शर्मा, अमरसिंह पुन, ललितजंग शाही र बीरबहादुर बलायरले आ–आफ्नो धारणा राखेका थिए । 



नयाँ