arrow

बलियो स्कटल्याण्डविरुद्ध नेपालको शानदार प्रदर्शन, पाँच विकेटले विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
nepal-scotland-2022-07-13b.jpg

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टु क्रिकेट अन्तर्गतको त्रिकोणात्मक श्रृंखला अन्तर्गतको दोस्रो खेलमा नेपालले बलियो प्रतिद्धन्द्धी स्कटल्याण्डमाथि शानदार जित हासिल गरेको छ । स्कटल्याण्डको ग्लास्गोमा भएको खेलमा बुधबार राति नेपालले पाँच विकेटको जित हासिल गरेको हो । 

एक सय ४५ रनको सामान्य चुनौती नेपालले ५ विकेटको क्षतिमा २५.१ ओभरमा पूरा गरेको हो । नेपालका लागि आशिफ शेखले ६२ बलमा ७१ रन बनाए । पहिलो विकेटका लागि आशिफसँग ४७ रनको साझेदारी गर्ने क्रममा ओपनर कशुल भुर्तेलले २८ बलमा २७ रन बनाए । 

त्यसैगरी रोहित पौडेलले ३१ बलमा अविजित रहँदै ३४ रन बनाए । नेपालको यो स्कटल्याण्डविरुद्ध पहिलो जित हो । 

स्कटल्याण्डको इनिङ्स
नेपालले सनसनीपूर्ण बलिङ गर्यो । टस जितेर पहिले फिल्डिङ गरेको नेपालले स्कटल्याण्डलाई उसकै मैदानमा कम योगफलमा रोकेको हो । 

नेपालले स्कटल्याण्डलाई १४४ रनमा रोकेको हो । स्कटल्याण्डले ४२।५ ओभरमात्र क्रिजमा खेल्न पायो । ९५ रन बनाउँदा स्कटल्याण्डले ९ विकेट लिइसकेपछि स्कटल्याण्डले तेहेरो स्कोर खडा नगर्ने अपेक्षा गरिएको थियो । 

तर अन्तिम विकेटका लागि भएको ४९ रनको साझेदारी भएसँगै स्कटल्याण्ड उक्त स्कोरसम्म पुगेको हो । स्कटल्याण्डका लागि गाभिन माइनले नेपाली बलरलाई सताएका थिए । उनले अविजित रहँदै ५९ बलमा ६४ रन बनाए । त्यस्तै मार्क वाटले १७, सफ्यान शरिफले १६ रन बनाए । 

नेपालका लागि सोमपाल कामी र मोहम्मद आदिल अलामले समान ३–३ विकेट लिँदा सन्दीप लामिछानेले २ तथा करण केसी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । 

जितसँगै नेपालले श्रृंखलामा पहिलो जित हासिल गरेको छ । नेपाल पहिलो खेलमा कमजोर नामिबियासँग ४० रनले पराजित भएको थियो ।

स्कटल्याण्डले पहिलो खेलमा नामिबियालाई ७७ रनले हराएको थियो ।  

अंक तालिका
अंक तालिकामा नेपाल १८ खेलमा १७ अंक जोडेर पुनः पाँचौं स्थानमा रहेको छ । स्कटल्याण्ड २२ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

नामिबिया १६ खेलबाट १६ अंकसहित छैटौं स्थानमा झरेको छ । 

पुछारको पपुवा न्यूगिनीको २ अंकमात्रै छ । 

शीर्ष स्थानको ओमानको ३६ खेलमा ४४ अंक छ । तेस्रो स्थानको यूएईको २२ खेलमा २६ अंक छ । चौथो स्थानको अमेरिकाको २४ खेलमा २३ अंक छ । 

नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध शनिबार र अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ