arrow

देउवाले पार्टीभित्रै एकताको वातावरण नबनाएको आरोप लगाउँदै अर्जुननरसिंह केसीले राखे ११ बुँदे धारणा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
arjun-narasingh-kc-2021.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाले पार्टीमा एकताको वातावरण बनाउन नसकेको आरोप लगाएका छन् ।

जारी केन्द्रीय कमिटीको बुधबारको बैठकमा पूर्वमन्त्रीसमेत रहेका केसीले ११ बुँदे असन्तुष्टिसहित सुझाव पेस गरेका छन् । देशभित्रको विविध विषयमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाको ध्यानाकर्षण गराएका छन् । 

गत मंसिरमा सम्पन्न पार्टीको १४औँ महाधिवेशनबाट नेताहरुको व्यवस्थापन भए पनि नीति महाधिवेशन गर्न नसक्नु वा नचाहनु, केन्द्रीय विभाग गठन र भातृसंस्थाहरूको अधिवेशन गरी पार्टीलाई पूर्णता दिन नसक्नुले नेतृत्वको योग्यता पुष्टि नहुने भन्दै असन्तुष्टि जनाएका छन् । पार्टीभित्रै नेतृत्वले नेता कार्यकर्तामाथि तिरस्कार गरेको भन्दै आपत्ति जनाएका छन्।

‘पार्टीभित्रको एक पक्षलाई उपेक्षा र तिरस्कार गरेर गठबन्धनका नाममा एकपक्षीय हितको सोच र स्वार्थले आजको चुनौती सामना गर्न र मुलुक, लोकतन्त्र र कांग्रेसको समग्र हित हुन सक्दैन भन्नेबारे सचेत हुन आवश्यक छ,’ केसीले लिखित धारणा राख्दै भनेका छन्।  

उनले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई गठबन्धनको वैशाखी आवश्यक थियो या थिएन भन्नेबारे बहस गर्नुपर्ने बताए। ‘स्थानीय तहको निर्वाचनको लागि कांग्रेसलाई गठबन्धनको बैसाखी आवश्यक थियो कि थिएन भन्ने व्यापक बहसको विषय बनेको हो,’ उनले थप भनेका छन्, ‘चुनावी गठबन्धन तात्कालीक रणनीतिमात्र हो। यो नै गन्तव्य र लक्ष्य होइन।’ उनले संघीय र प्रदेशको निर्वाचनमा कांग्रेसलाई गठबन्धन आवश्यक छ या छैन भन्नेबारे छलफल गरेर सम्मानजनक हैसियत रक्षा गर्ने स्पष्टता मापदण्ड बनाउनुपर्ने पनि बताएका छन्। 

नेता केसीले देश दिनानुदिन आर्थिक संकटमा फस्दै गएको अवस्थामा सरकार हातहतियार किन्न उद्दत रहेको प्रति असन्तुष्टि जनाउँदै त्यसको औचित्य के भन्दै प्रश्न गरेका छन् । ‘देशमा आर्थिक संकट चुलिँदै गएको र विदेशी मुद्रा रित्तिदै जान थालेको बित्तीय संकटका बेला ८४ करोड रुपैयाँ बराबरको विदेशी हात–हतियार किन्नुको के औचित्य छ ?’ केसीले भनेका छन् ।

उनले विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिका विषयमा सरकारले सर्वदलीय छलफल गर्नुपर्ने, बजेट निर्माणका क्रममा बाहिरी मान्छेहरुको हस्तक्षेप रहेकोप्रति प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।

यस्तो छ नेता केसीले प्रस्तुत गरेको धारणा–
आदरणीय सभापतिज्यू, नेपाली काँग्रेस
पार्टीका सम्पूर्ण पदाधिकारीहरू
र सदस्य साथीहरू ।

१, नेपाल गम्भीर संकटका चक्रब्युह वा पासोतिर उन्मुख छ । असफल राज्यका विशेषताहरू देखिन थालेका छन् । ‘नेपाल श्रीलंकाको नियति भोग्ने अवस्थामा’ जान्छ कि भन्ने त्रासले सर्वसाधारण जनतालाई झन् गम्भीर चिन्तामा पारेको छ । भ्रष्टाचारको पासो, ऋणको भारी, बाह्य चलखेल र शक्तिराष्ट्रहरूको द्वन्द्वको महाभारी जस्ता अनेकौं चक्रब्युह देशभित्र देखिन थालेका छन् । देशमा आर्थिक संकट चुलिँदै गएको र विदेशी मुद्रा रित्तिदै जान थालेको बित्तीय संकटका बेला ८४ करोड रुपैयाँ बराबरको विदेशी हात–हतियार किन्नुको के औचित्य छ रु

२, दोस्रो विश्वयुद्धपछि ८० को दशक अन्त्यसम्म शीतयुद्धको केन्द्र युरोप थियो भने वर्तमान परिवेशमा अमेरिका–चीन बीचको शीतयुद्धको स्थल–केन्द्र नेपाल हुनथालेको छ । दुई विशाल छिमेकी भारत र चीनका बीच बढ्दो आर्थिक, सामरिक तथा राजनीतिक शक्तीका साथै यी दुई छिमेकीको रस्साकस्सी र युद्धस्तरीय प्रतिष्पर्धाबाट हाम्रो भूभाग चोखो रहन सक्दैन । यसबारे हाम्रो स्पष्ट दृष्टिकोण र उचित राष्ट्रिय भूमिका तय हुनु अनिवार्य छ । विदेश नीति र राष्ट्रिय सुरक्षा नीति सरकारबाट सर्वदलीय सहमतिद्वारा नै तय गर्नु आवश्यक छ ।

३, अर्थतन्त्र संकटग्रस्त हुनुको मूल कारण ‘समानान्तर अर्थतन्त्र’ को नाममा भ्रष्टाचार, तस्करी, माफियागर्दी, कमिशनखोरी, आर्थिक अपराधीले खेलाएको कालोधन राजनीतिमा पनि निर्णायक पहुँच बनाउन थालेको खतरनाक स्थितितिर मुलुक घिसारिँदैछ छ । बजेट प्रस्तुत हुने अघिल्लो राती अर्थमन्त्रालयमा भएको काण्ड र अर्थमन्त्रीको राजिनामाले धेरै कुराको रहस्योद्घाटन गरेको छ । कतै हाम्रो उदारतालाई कमजोर ठानेर त्यसको नाजायज फाईदा लिने तत्वहरू पल्किरहेका त छैनन् । सतर्कता जरुरी छ ।

४, देशमा अनियन्त्रित हुँदैगएको दण्डहिनता, भ्रष्टाचार र सुशासनको अभावले आर्थिक अपराधी, माफिया र बिचौलियालाई संरक्षण र हौसला पुगेको वर्तमानमा यसको निराकरणको लागि आजसम्मका सम्पूर्ण चर्चित भ्रष्टाचार काण्डहरूको उच्चस्तरीय न्यायिक छानवीन समिति गठन गरी यथार्थ जनसमक्ष ल्याउने र न्यायोचित कारवाही गर्ने अग्रणी भूमिका काँग्रेसले नै निर्वाह गर्नुपर्छ । यसबारे मैले यसभन्दा अघिको यस्तै बैठकमा पनि माग गरेको थिएँ । मुलुकलाई न्यायोचित रुपमा आर्थिक अपराधीबाट मुक्त गराउनु जरुरी छ ।

५, पारदर्शी तथा विधिको शासन, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको आधार राज्य सञ्चालनमा अगाध विश्वास राख्ने नेपाली काँग्रेस र यसका सभापतिले सत्ता सम्हाल्नुभएको बेलामा पनि पूर्ववर्ति एमाले नेतृत्वको सरकारका पालामा प्रधानमन्त्रीको मातहतमा राखेका राजश्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान, तथा सम्पत्ती शुद्धीकरण विभागहरू प्रधानमन्त्री कार्यालयको मातहतमा राखिरहनुको औचित्य के छ रु संवैधानिक परिषद ऐनको संशोधनको जरुरत किन पर्यो रु यसमा संविधान, पद्धति र ऐनबारे हाम्रो पूर्वअडान र प्रतिपक्षी दलको आसनबाट हामीले यसको घोर विरोध गरेको आफ्नै आवाज सम्झौं र ती विषयहरू यथास्थानमा पुनःस्थापित गरौं ।  

६, मुलुक आन्तरिक र बाह्य ऋणमा फस्दैगएको छ । विगत पाँच वर्षको अवधिमा गार्हस्थ उत्पादन घटिरहेको छ तर आन्तरिक र बाह्य कर्जा तीनगुणाले बढेको छ । लगानी, उत्पादन, वितरण र रोजगारीको अवस्था संकटपूर्ण हुँदा कुल गार्हस्थ उत्पादन जीडीपी को २० प्रतिशत आन्तरिक र बाह्य कर्जा पनि धेरै हुन्छ । उत्पादनशील क्षेत्रमा लाग्ने पूँजीको लागि मात्र यस्तो ऋण जति लिए पनि हुन्छ । नेपालमा जीडीपी को ४३ प्रतिशत ऋणभार पुग्नु चेतावनीपूर्ण पूर्वसंकेत हो ।

७, चौधौं महाधिवेशनले केवल नेता व्यवस्थापन गर्यो, नीतिगत छलफल र निर्णय केही पनि भएन । तर महाधिवेशन सम्पन्न भएको सात महिना बितिसक्दा पनि यसको नीति महाधिवेशन गर्न नसक्नु वा नचाहनु, केन्द्रीय विभाग गठन र भातृसंस्थाहरूको अधिवेशन गरी पार्टीलाई पूर्णता दिन नसक्नुले नेतृत्वको योग्यता पुष्टि हुँदैन । पार्टीको आदरणीय सभापति पद सबै दृष्टिकोणले सबल र सक्षम हुनुपर्ने हामी सबैको चाहना हो तर पार्टीको विधान र पद्धति लत्याएर निरंकुश बन्न खोजे क्षतिग्रस्त हुन्छ । पार्टीको केन्द्रीय समितिले ‘स्थानीय अवस्था र आवश्यकताअनुसार तालमेल गर्ने’ निर्णय लियो । पछि यही निर्णय विपरीत हस्तक्षेप हुनु पार्टी विधानको बर्खिलाप हो । देशको परिस्थिति र काँग्रेसमा बढेर आएको जिम्मेवारीले हामीलाई एक मिनेट पनि गैरजिम्मेवारी देखाउने छुट छैन ।

८, नेपाली काँग्रेसलाई ‘विपत सम्हाल्ने नेता’ र पार्टीको रुपमा इतिहासले स्थापित गरेको छ । त्यसैले काँग्रेसको यस बैठकले भरोसायोग्य सन्देश र समाधान जनतालाई दिनुपर्छ । निर्वाचनको बेलामा जनतामा गरिएको वाचा (घोषणापत्र) लाई ध्यानमा राखेर काम गर्न स्थानीय तहमा निर्वाचित काँग्रेसका साथीहरूलाई पार्टीले इन्पुटसहित निर्देशन दिनु जरुरी छ । स्थानीय तहको कार्यसम्पादनमा नेपाली काँग्रेस अन्य पार्टीभन्दा कसरी उत्कृष्ट हुनसक्छ भन्ने सवालमा हामीले नीति, अभिमुखीकरण कार्यक्रम र निष्कर्ष बनाउनु पर्ने हुन्छ । हाम्रो जिम्मेवारी बढेको उत्तरदायित्व हामीले पूरा गर्नुपर्छ । नत्र उपलब्धी बरदानको रुपमा आएको अभिशाप हुन बेर लाग्दैन ।

९, मूलधारका पार्टीहरूप्रति वितृष्णा र अविश्वास बढ्दै गएकोले नै स्वतन्त्र उम्मेद्वारतर्फ मतदाता आकर्षित भए । जनसंख्याको ४० प्रतिशत नयाँ पुस्ता र मतदातालाई पार्टीमा आकर्षित गर्ने भरोसायुक्त विशेष कार्यक्रम र रणनीतिको अभावको परिणाम जनताको आस्था डगमगाएको अर्थमा शिक्षा लिएर समयमै कोर्श करेक्सन गरिएन भने आगामी निर्वाचनहरूमा स्वतन्त्र उम्मेद्वारको संख्या र मतदाता थपिन सक्ने कटु यथार्थबारे सतर्कता अपनाऔं ।

१०, जनताको निकट सम्पर्क र राज्यको अग्रपंक्तिमा रहेका स्थानीय तहको निर्वाचनमा काँग्रेसले सन्तोषजनक उपलब्धी हासिल गरेको छ, तथापि अन्तरघातबाट मुक्त रहन सकेन । यसका कारक पक्षलाई जरैदेखि समाप्त गर्न आवश्यक छ ।

यसका लागि पारदर्शी, विधिसंगत नीति निर्माण प्रक्रिया पहिलो सर्त हो । तर कार्यशैलीमा गुणात्मक (क्वालिटेटिभ) सुधारले मात्र परिमाणात्मक (क्वान्टिटेटिभ) उपलब्धीको सार्थकता प्रमाणित हुन्छ । निर्वाचनमा पैसाको बोलवाला लगाम बाहिर जान थालेको छ । यसले आखिरमा सबै पार्टी, लोकतन्त्र, विधिको शासन सबैलाई खाईदिन्छ । समय छँदै होस पुर्याउँदै निर्वाचन पद्धतिमाथि नै राष्ट्रिय बहसको आवश्यकता रहेको देखिन्छ ।

११,  स्थानीय तहको निर्वाचनको लागि काँग्रेसलाई गठबन्धनको बैशाखी आवश्यक थियो कि थिएन भन्ने ब्यापक बहसको विषय बनेकै हो । चुनावी गठबन्धन तात्कालिक रणनीति मात्र हो । यो नै गन्तब्य र लक्ष होइन । संघीय र प्रदेश संसदको आसन्न निर्वाचनमा गठबन्धन आवश्यक छ भने काँग्रेसको स्वाभिमान र सम्मानजनक हैसियतको रक्षा गर्ने स्पष्टता सहित निश्चित मापदण्ड, आचारसंहिता सहित पार्टीको संस्थागत निर्णयको आधारमा स्प्ष्ट हुनुपर्छ । पार्टी विधान र निर्णयको उपेक्षा गरेर उच्चस्तरीय संयन्त्रको नाममा निर्णय लादिनु हुन्न । यी दुवै तहका संसदीय निर्वाचनमा काँग्रेसले बहुमतको लक्ष राख्नुपर्छ । गठबन्धनको औचित्य र काँग्रेसको निर्णायक हैसियत कायम राख्न पार्टीभित्र बृहत् एब्यबद्धताको उत्साही वातावरण बनाउनु जरुरी छ । समग्र सहमति आजको अनिवार्य आवश्यकता हो । मेलमिलाप, सहमति र एकता भनेको सहअस्तित्व हो, समर्पण होइन भन्ने हेक्का राख्नु जरुरी छ । विधि, प्रकृया र पारदर्शिताका साथ एकता आजको चुनौतीपूर्ण स्थितिको सामना गर्ने एकमात्र आधार हो भन्ने नभुलौं ।

पार्टी भित्रको एक पक्षलाई उपेक्षा र तिरस्कार गरेर गठबन्धनका नाममा एकपक्षीय हितको सोच र स्वार्थले आजको चुनौती सामना गर्न र मुलुक, लोकतन्त्र र काँग्रेसको समग्र हित हुनसक्दैन भन्नेबारे सचेत हुन आवश्यक छ ।

बुधबार, ३० असार ०७९                              
अर्जुननरसिंह केसी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ