arrow

चिनियाँ कम्युनिष्ट पार्टी नेता लिउसँगै आएकी एक अधिकारी अझै नेपालमा, उनलाई छाडेर प्रचण्ड भारतमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३१ शुक्रबार
प्रचण्ड.jpg

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभाग प्रमुख लिउ चियानछाओसँगै आएकी एक अधिकारी नेपालमै रहेकी छिन् । लिउ भने नेपालको चार दिने भ्रमण पूरा गरी बुधबार बेइजिङ फर्केका छन् ।

लिउले नेपालमा रहँदा भ्रमणको पहिलो दिन आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्का तथा भ्रमणको अन्तिम दिन बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाल मजदुर किसान पार्टी नेमकिपाका अध्यक्ष नारायणमान विजुक्क्षेसँग भेटवार्ता गरेका थिए । 

यसबाहेक उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डलाई सोमबार, एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग मंगलबार भेटवार्ता गरे । 

त्यसपछि उनी स्वदेश फर्के पनि उनीसँगै नेपाल आएकी चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय समन्वय विभागकी सदस्य चेङ योउया केही दिन नेपाल बस्ने भएकी हुन् । 

उनी नेपालमै रहेका बेला प्रचण्ड शुक्रबार तीन दिने भारतको औपचारिक भ्रमणमा दिल्ली गएका छन् । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा गएका प्रचण्डले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उच्च भारतीय अधिकारीसँग भेटवार्ता गर्ने स्रोतको दाबी छ । 

भारतस्थित नेपाली राजदूतावासले आइतबार बिहान प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग भेटघाट गर्ने जनाएको छ । त्यसअघि प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भाजपा मुख्यालयमा शनिबार भेटवार्ता हुनेछ । 

प्रचण्डले शनिबार प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री डा एस जयशंकरसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । ‘उहाँले यसपालि यतिधेरै भारतीय नेताहरुसँग भेटघाट गर्दे हुनुहुन्छ, यसको अर्थ उहाँ चीनतिर ढल्केको संकेत पाएपछि भारतीय नेताहरुले उहाँलाई महत्व दिएका हुन्’, स्रोतले दाबी गर्यो । 

एकातर्फ चिनियाँ डेलिगेट्स नेपालमै रहनु र अर्कोतिर प्रचण्ड भारत भ्रमणमा पुगेर त्यहाँका उच्च नेताहरुसँगको भेटघाट गर्नुले नेपालको राजनीतिमा निकै महत्व राखेको छ । ‘यसपल्ट प्रचण्डलाई यतिधेरै महत्व दिइरहेका छन् कि प्रचण्डको सम्मानमा शनिबार साँझ विदेशमन्त्री जयशंकरले रात्रिभोज आयोजना गर्नेछन्’, स्रोतले भन्यो । शुक्रबार उनलाई भाजपा विदेश विभागका तर्फबाट रात्रिभोज दिने कार्यक्रम रहेको भाजपा स्रोतले जनाएको छ । 

प्रचण्डले शनिबार फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी नामक चिन्तन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल–भारत सम्बन्धबारे सम्बोधन गर्ने कार्यक्रम छ । यो संस्थाका उपाध्यक्ष भाजपा विदेश विभाग प्रमुख डा विजय चौथाइवाले हुन् । नेपालका प्रमुख राजनीतिक पार्टीसँग सम्बन्ध विस्तार गर्ने भाजपा नीतिअनुसार भाजपाले प्रचण्डलाई निमन्त्रणा गरेको बताइएको छ । 

चिनियाँ कम्युनिष्ट पार्टीका नेताले एमाले अध्यक्ष केपी ओली र प्रचण्डलाई नेपालमा आएर गोप्य तथा सामूहिक कुराकानी गरे लगत्तै उनी भारत भ्रमणमा जानु र भारतले पनि प्रचण्डलाई यतिधेरै महत्व दिनुले हाल चलिरहेको सत्ता गठबन्धनसँग पनि जोडेर हेर्न थालिएको छ । 

स्थानीय तहको निर्वाचनछि गठबन्धन भत्काउने कि कायम राख्ने भन्ने दोधारमा रहेका प्रचण्डलाई भारतले दिने सन्देशको पनि महत्व रहने बताइएको छ । ‘भारतीय नेताहरुले प्रचण्डलाई यसरी पहिलो पटक महत्व दिएर बोलाएका हुन्, यतिधेरै महत्व दिनुको पछाडि चिनियाँ फ्याक्टरले काम गरेको हुनसक्छ’, नेपाल भारतका जानकार एक कुटनीतिज्ञले भने ।

उनका अनुसार प्रचण्डको स–सानो कमजोरी थाहा पाएर नै भारतले भारत भ्रमणमा बोलाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ