arrow

वीपीको राष्ट्रियताविरुद्ध भएको खेलबाड

logo
नारायण पौडेल, 
प्रकाशित २०७९ साउन ६ शुक्रबार
narayan-poudel-article-bp-koirala-2079-04-06.jpg

सन् १९४७ मा भारत स्वतन्त्रता भएसँगै भारतको लोकसभामा नेपालको राजनीतिबारे उठेको सवालमा सरदार बल्लव भाइ पटेलले ‘नेपाललाई पनि भारतमा गाभ्नुपर्दछ’ भन्ने अभिव्यक्ति दिएपछि वीपी कोइरालाले भनेका थिए, ‘भारतीय स्वतन्त्रता संग्राममा मलगायत धेरै नेपाली नेताहरुको रगत र पसिना बगेको छ, भारत स्वतन्त्र हुनुमा भारतीय आन्दोलन मात्रै पर्याप्त थिएन र भारतको स्वतन्त्रतासँगै नेपालमा पनि स्वतन्त्रता आउँछ भन्ने मूल लक्ष्यका साथ हामी पनि भारतीय स्वतन्त्रता आन्दोलनमा सरिक भएका हौं, यसलाई अवमूल्यन गर्दै नेपाललाई भारतमा गाभ्ने भनी दिएको अभिव्यक्ति मलाई स्वीकार्य छैन ।’

वीपीको यस्तो भनाइपछि तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले भनेका थिए, ‘नेपाललाई भारतमा गाभेर एउटा थप प्रान्त बनाउने कुरा कठिन छैन, तर त्यो नयाँ बन्ने प्रान्तको नेता वीपी कोइराला भारतको प्रधानमन्त्री हुन सक्छन् । किनकि उनी हामी सरहकै नेता हुन् । जसले भारतीय स्वतन्त्रता आन्दोलनमा हामीले भन्दा बढी संघर्ष गरेका छन् र भारत स्वतन्त्र भएसँगै नेपाल पनि स्वतन्त्र हुन्छ भन्ने विश्वास वीपी कोइरालामा रहेको छ । यसर्थ नेपाल भारतमा गाभ्ने भन्दा पनि एउटा स्वतन्त्र राष्ट्रकै रुपमा रहनु भारतलाई समेत फाइदाजनक हुन्छ ।’ 

यसबाट वीपीको राष्ट्रियता कति बलियो थियो भन्ने कुरा स्पष्ट हुन्छ । त्यस्तै वीपी कोइराला नेपालको प्रधानमन्त्री भएको बेलामा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले भारतीय संसदमा आफ्नो देशको उत्तरी सीमाना हिमालय (नेपालको भूभाग) भएको भन्ने अभिव्यक्ति दिएको विषयलाई लिएर वीपीले नेपाल भारत सरह एक स्वतन्त्र र स्वाधीन राष्ट्र भएकाले यसको सार्वभौमसत्तामा खलल पुग्ने गरी आएको समकक्षी प्रधानमन्त्रीको अभिव्यक्तिमा मेरो पूर्ण असहमति रहेको छ, यसलाई तुरुन्त सच्चाउनु पर्दछ भनी सशक्त विरोध गरेपछि भारतीय संसदले नेहरुको भनाइप्रति माफी मागेको थियो । जुन वीपीमा रहेको राष्ट्रियताको अर्को अदभुद् उदाहरण हो ।

वीपी भारतसँग मात्रै होइन चीनसँग पनि आफ्नो देशको हितका लागि कहिल्यै झुकेनन् । उनी प्रधानमन्त्री हुँदा सगरमाथाको चुचुरोलाई चीनले आफ्नो भनी दाबी गरिरहेको थियो । यसै क्रममा वीपी र माओ त्से तुङ बीच चीनमा वार्ता हुँदा सगरमाथालाई साझा शिखर बनाउने माओको प्रस्तावमा वीपीले उक्त चुचुरो नेपालको हो भन्दै साझा बनाउन नसकिने कुरामा चीनलाई सहमत गराइ आफ्नो भूभागको संरक्षण र सुरक्षा गर्न अब्बल देखिएका थिए । 

त्यस्तै मुस्ताङको नेपाली भूभागमा चिनियाँ पक्षले चलाएको गोली लागि एकजना नेपाली सुरक्षाकर्मीको मृत्यु भएको विषयलाई नेपालको सार्वभौमसत्ता विरुद्धको आक्रमणका रुपमा लिँदै वीपीले चिनियाँ पक्षलाई माफी माग्न लगाएर ५० हजार रुपैयाँ क्षतिपूर्ति तिर्न बाध्य बनाएका थिए । 

२०१५ सालको पहिलो आमनिर्वाचनमा दुईतिहाई बहुमतसहित नेपाली कांग्रेस विजयी भइ वीपी कोइराला प्रधानमन्त्री बनेपछि उनले नेपालको स्वतन्त्रता तथा सार्वभौम अधिकार स्थापित गर्नका लागि छिमेकी देश चीनसँग समेत मित्रता बढाउन थालेपछि भारतीय संस्थापन पक्ष खुशी भएन । फलस्वरुपः राजा महेन्द्र र प्रधानमन्त्री कोइराला मिलेको अवस्थामा नेपाललाई भारतीय प्रभावमा नै राखी राख्न नसकिने ठहर गरी नेपालका यी दुई राष्ट्रवादीबीच फुट ल्याउने रणनीति अख्तियार गर्दै २०१७ सालमा प्रजातन्त्र सहित दलीय व्यवस्था नै समाप्त पार्न भारतले राजालाई सहयोग गर्यो ।

अर्कोतर्फ राजा महेन्द्र र वीपी जस्ता दुई राष्ट्रवादीलाई विदेशीको षडयन्त्र तथा इशारामा नेपालकै केही नेताहरुले मिल्न दिएनन् । यतिसम्मकि मेलमिलापको नीति लिएर स्वदेश फर्किएका वीपीलाई तत्कालीन राजा वीरेन्द्रलेसमेत वास्ता गरेनन् । भारतमा निर्वासित जीवन बिताइरहेका वीपीले भारत सरकार तथा भारतीय नेताहरुको नेपाललाई हेर्ने गिद्दे दृष्टिबाट आजित भएर मुलुक जोगाउनकै लागि मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए । 

त्यस्तो अवस्थामा राजा र वीपीलाई मिल्न दिएको भए सम्भवतः नेपाल अहिलेसम्म निकै समृद्ध भइसकेको हुन्थ्यो र लोकतान्त्रिक रुझान भएका राजा वीरेन्द्र र वीपीबीच समन्वय गराउन सकेको भए सायद नेपालमा लोकतान्त्रिक अभ्यासले एउटा निश्चित आकार लिइसकेको हुने थियो । नेपाली राष्ट्रियताको आन्दोलनको नेतृत्व निःसन्देह वीपी कोइरालाले गरेका थिए । वीपीका अनुसार राष्ट्रियता निरंकुश शासनमा होइन, लोकतन्त्रमा सुदृढ हुन्छ र लोकतन्त्रको सफल प्रयोग तथा सञ्चालनबाट राष्ट्रियताको भावना बलियो हँुदै जान्छ । 

जनताको सबलता नै बलियो राष्ट्रियताको आधार हो, राष्ट्रियताको लक्ष्य शक्तिशाली जनता हो । देशमा आफ्नो प्रभुत्व स्थापित गर्न विदेशीसँग झुक्ने तथा विचार नै नमिल्ने समूहसँग टाँसिने प्रवृत्तिले वास्तमा राष्ट्रियता बलियो हुँदैन भन्ने वीपीको राष्ट्रभावलाई उनको निधनपछि तत्कालीन राजा वीरेन्द्रले समेत ‘वीपीबाट हरेक नेपालीले राष्ट्रियताको पाठ सिक्न सक्छन्’ भनी पुष्टि गरेका थिए । 

नेपालको राजनीतिक इतिहासमा सँधैजसो राष्ट्रियताको सवाल पेचिलो बनिरहेको छ । नेपाली सन्दर्भमा राष्ट्रियता भनेको के हो भनेर बुझ्नका लागि महामानव वीपी कोइरालाको विचारलाई आत्मसात गर्नसके मात्रै पुग्छ । 

कुनैबेला पत्रकार भोला चटर्जीले वीपीलाई सोधेका थिए, ‘तपाईलाई आफ्नो लोकप्रियताको कारण के लाग्छ ?’ वीपीले जवाफमा भनेका थिए, ‘मैले राष्ट्रियताको चुरो समातेको छु ।’ अर्को फरक सन्दर्भमा वीपीले भनेका थिए, ‘तराईको सीमानामा बस्ने नागरिक असली राष्ट्रवादी हुन्, उनीहरु खुला सीमानाको सास्ती भोगेर पनि यो देशको रक्षार्थ दिनरात खटिइरहेका छन् ।’ यसर्थ देशभित्रका नागरिकको सामूहिक चासो र चिन्ता नै राष्ट्रियता हो । राष्ट्रियता भनेको जनताको सामूहिक भावना हो । देश वा राष्ट्र भनेको माटो र भूगोल मात्रै होइन त्यो वास्तवमा जनता तथा जनताको भावना र विश्वास हो भन्ने धारणा वीपीले राखेका थिए ।

वीपीले अनुशरण गरेको राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवाद जस्ता जटिल विषय हिजो, आज र भोलिसम्म उत्तिकै सान्दर्भिक छन् । वीपी आफ्नो जीवनकालमा विचारक, चिन्तक, नेता र साहित्यकार बनेर चिनिए । जुन आफैमा एक विलक्षण प्रतिभा थियो । वीपीले राष्ट्र हुनको लागि साझा इतिहास, भाषा र भूभाग मात्र नभइ त्यसलाई एक सूत्रमा बाँध्ने राष्ट्रिय भावना हुनुपर्ने कुरामा जोड दिँदै देश र जनताको आम समस्या समाधान गर्नको लागि गरिने सामूहिक प्रयत्न नै राष्ट्रियता हो भनी व्याख्या गरेका थिए ।

हुनत नेपालको निर्माण गर्ने क्रममा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरी देशको पहिचान बनाइदिए । भगवान गौतम बुद्धको जन्म नेपालमै भयो । सगरमाथालाई नेपालले आफ्नो विश्व चिनारीको आधार बनाउन सफल भयो । गोर्खाली सैनिकले प्रदर्शन गरेको बहादुरीबाट नेपालीको इज्जत तथा भूभाग जोगियो । जंगबहादुरको लामो युरोप भ्रमणले कानून बमोजिम सत्ता चलाउनुपर्ने सद्बुद्धि प्राप्त भयो । वीपी कोइरालाले प्रजातन्त्रको उदय गराए । 

भारतसहित पश्चिमा राष्ट्रको सहमति बेगर पनि वीपीले इजरेल, चीन र पाकिस्तानसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापित गरेर स्वतन्त्र देशको पहिचान कायम गराउनुको साथै सगरमाथा नेपालको हो भनी प्रमाणित गर्न चीनका राष्ट्र प्रमुखलाई विश्वस्त तुल्याए । राजा महेन्द्रले पूर्व–पश्चिम राजमार्ग र पाँच विकास क्षेत्रको अवधारणा अगाडि सारे, राजा वीरेन्द्रले नेपाललाई शान्ति घोषणा गराउने कार्यमा ठूलो योगदान दिए, संविधानसभाबाट नयाँ संविधान बन्यो, यस्तै प्रयास तथा सफलताहरुले मात्रै नेपाल र नेपाली रहेका हुन् ।

वीपी साम्यवादी शक्तिलाई कहिल्यै पनि प्रजातान्त्रिक शक्तिका रुपमा मान्न तयार भएनन् । उनका अनुसार साम्यवाद र प्रजातन्त्र भनेको नदीका दुई किनारा हुन्, जसको मिलन कहिल्यै सम्भव छैन । त्यसैले अस्तित्वमा आउँदै गरेका नगन्य साम्यवादीसँग कार्यगत एकता गर्न वीपीले अस्वीकार गर्दै आए । वीपी राष्ट्रियता, लोकतन्त्र र समाजवादका पक्षमा प्रष्ट अडान राख्दथे र त्यसका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार हुन्थे भने आफ्नो निष्ठाप्रति उनले कहिल्यै कुनै सम्झौता गरेनन् । 

यदि उनले कुनै सम्झौता गरेको भए आजीवन नेपालको प्रधानमन्त्री बन्न सक्दथे । उनको यही आदर्शले हामीले आज लोकतान्त्रिक अधिकारको उपयोग गर्न पाइरहेका छौं । तर वर्तमान कांग्रेस नेतृत्व, जो आफू वीपीको सच्चा अनुयायी ठान्दछ, उसले पारिवारिक मोहजालमा परी गैरलोकतान्त्रिक र राजनीतिक रुपमा वर्ग शत्रुसँग गठबन्धन गर्दै कांग्रेसको अस्तित्व समाप्त गर्दैछ, जसले वीपी अनि उनको आदर्शलाई इतिहासका पानामा सिमित गर्न खोज्दैछ ।

नेपालको राजनीति प्रायः सबै कालखण्डमा भारतबाट प्रभावित एवं परिचालित हुँदै आएकोमा अहिले अमेरिका, चीन, युरोपियन युनियन समेतको चासोको विषय बनिरहेको छ भने विदेशी शक्तिकेन्द्रहरुले आफ्नो हितका लागि नेपाली राजनीति, नेपाली भूमि तथा नेपालका नेताहरुलाई सहज रुपमा उपयोग गरिरहेका छन् ।

पछिल्लो समय नेपालको राजनीतिमा निकै चर्चा पाएको लिम्पियाधुरा लिपुलेकको भूभाग, बीआरआई र एमसीसी सम्झौता लगायतका सवालहरुमा विदेशीले आफ्नो अनुकूल नै नेपाल सरकारलाई झुकाए । यतिमात्रै होइन नेपालको सत्ता अहिले छिमेकी देशका राजदूतहरुको कब्जामा रहेको छ भने नेपालका नेताहरु मलाई प्रधानमन्त्री बनाइदिनुपर्यो भन्दै दूतावासदेखि छिमेकी देशको भ्रमणमा निस्किन थालेका छन् । यसले नेपालको राष्ट्रियता र सार्वभौमसत्ता दिनानुदिन कमजोर बनाइरहेको छ । 

नेपालको राजनीति लामो समयदेखि कांग्रेस पार्टीकै वरिपरि घुमिरहेको छ । किनकि कांग्रेस पार्टी निर्माण तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा लाखौं इमान्दार कांग्रेस कार्यकर्ताले आफ्नो जीवन कुर्बानी गरेका छन् भने वीपी कोइरालाको लामो समयको त्याग, तपस्या र विलक्षण नेतृत्व क्षमताका कारण कांग्रेसले अहिले पनि नेपाली जनताको मन, मस्तिष्कमा स्थान पाएको छ । 

तर विदेशी शक्तिसामु नेपाल एक सार्वभौम राष्ट्र हो भन्न नसक्ने, सबै प्रकारका निर्णयमा विदेशी मुख ताक्ने, देशका कर्मचारीलाई मुलुकको नेतृत्व दिने, मुलुकको संवैधानिक तथा न्यायिक निकायमा राजनीतिक दलका पृष्ठपोषकहरुलाई नियुक्ति गर्ने, व्यक्तिगत स्वार्थका लागि पार्टीको नीति तथा सिद्धान्तलाई तिलाञ्जली दिने, पार्टीभित्र नवप्रवेशी, ठेकेदार र विचौलियाहरुको हालीमुहाली हुने, पार्टीभित्र फरक मत राख्नेलाई किनारा लगाउने, टिकट वितरण तथा नियुक्तिहरुमा मोलमोलाइ गर्ने जस्ता कार्यहरु कांग्रेसको वर्तमान नेतृत्वबाट भइरहेका छन्, जुन वीपीले परिकल्पना गरेको बाटो थिएन । 

त्यसैले वीपीले अनुशरण गर्न खोजेको बाटोलाई नै केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने हो भने मात्रै देशको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्ता कायम रहन सक्छ भन्ने हेक्का सबैलाई हुनु जरुरी छ । (लेखक अधिवक्ता हुन्) 



नयाँ