- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । साफ यू–२० च्याम्पियनशिप फुटबलमा नेपालले विजयी शुरुआत गरेको छ । भारतको भुवनेश्वरमा सोमबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दिभ्समाथि शानदार जित निकालेको छ । कालिंगा रंगशालामा भएको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० ले हरायो ।
नेपालको जितमा दिपेश गुरुङ, सुगम सुवाल, क्रिटिश रत्न छुन्जु र मनग्य नकर्मीले ले १–१ गोल गरे । खेलको शुरुआतदेखि नै माल्दिभ्सलाई दबाबमा राखेको नेपालले पहिलो हाफमा पाएका थुप्रै मौका गुमायो ।
खेलको १० औं मिनेटमा सुमित श्रेष्ठले डी बक्सभित्र पाएको मौका सदुपयोग गर्न सकेनन् । १६ औं मिनेटमा क्रिटिशको पासमा पाएको राम्रो अवसर सुगमले खेर फाले ।
लगातार माल्दिभ्सको पोष्टमा धावा बोलेको नेपालले पहिलो गोलका लागि पहिलो हाफको अन्तिमसम्म कुर्नु पर्यो । ४२ औं मिनेटमा दिपेशले नेपाललाई अग्रता दिलाए ।
आयुष घलानको फ्रिकिक माल्दिभ्सका गोलरक्षकले पन्च गर्दै बचाउँदा रिबाउण्डमा पाएको बललाई दिपेशले करिब ३५ यार्ड टाढाबाट कडा प्रहार गर्दै पोष्टको दिशा दिलाए । लगत्तै पाएको अबसरमा फेरि एक पटक सुगम चुक्न पुगे ।
पहिलो हाफको तुलनामा सुधारिएको प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्यो । ५६ औं मिनेटमा माल्दिभ्सले खेलमा फर्कने राम्रो अवसर गुमायो । तर त्यसको दुई मिनेटपछि सुगमले नेपालको अग्रता दोब्बर पारे ।
क्रिटिशको पासमा अनमार्क रहेका सुगमले माल्दिभ्सका डिफन्डरलाई बिट गर्दै सुन्दर गोल गरे । ६२ औं मिनेटमा क्रिटिशले टोलीका लागि तेस्रो गोल गरे । माल्दिभ्सका डिफेन्डरले आयुष घलानलाई पेनाल्टी एरियामा लडाएपछि पाएको पेनाल्टीमा क्रिटिशले सहजै गोल गरे ।
जितनजिक रहेको नेपालका लागि अतिरिक्त समयमा मनग्यले गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए । गोलरक्षकले रोकेको बल रिबाउण्डमा मनग्यले सहजै गोल गर्दै नेपाललाई ३ अंक दिलाए ।
अब नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्त २ मा खेल्नेछ । राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।