arrow

यू–२० साफ च्याम्पियनशिपमा श्रीलंकामाथि शानदार जितसहित नेपाल शीर्ष स्थानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
u20-saff-championship-nepal-2022-07-28.jpg

काठमाडौं । कप्तान आयुष घलानको उत्कृष्ट प्रदर्शनमा नेपालले यू–२० साफ च्याम्पियनशिप फुटबलको दोस्रो खेलमा श्रीलंकालाई ३–० अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।

कप्तान आयुषले एक गोल र एक असिस्ट गरेपछि बुधबार राति भारतको भुवनेश्वरस्थित कालिङा रंगशालामा नेपाल लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा पुग्न सफल भएको छ ।  

नेपालको जितमा आयुष, कृतिशरत्न छुन्जु र मनग्य नकर्मीले समान एक एक गोल गरे । जितसंगै नेपाल ६ अंक सहित शीर्ष स्थानमा पुगेको छ । लगातार दोस्रो हारसंगै श्रीलंका बिना अंक पुछारमा छ ।

बुधबार नै भएको पहिलो खेलमा घरेलु टोली भारतलाई २–१ अन्तरले पराजित गर्दै बंगलादेशले लगातार दोस्रो जित निकाल्यो । यद्यपि नेपालको जितसँगै बंगलादेश गोल अन्तरका आधारमा तालिकाको दोस्रो स्थानमा झरेको छ ।

यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो । अहिलेसम्म सात गोल गरिसकेको नेपालले कुनै गोल खाएको छैन । पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १(० गोल अन्तरले हराएको थियो ।

नेपालले अब तेस्रो खेलमा भारतसँग आइतबार खेल्नेछ । अन्तिम खेलमा बंगलादेशसँग मंगलबार खेल्ने कार्यतालिका रहेको छ । 

नेपाल, आयोजक भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेश गरी पाँच टोली सहभागी प्रतियोगिताको शीर्ष दुई टोलीले अर्को शुक्रबार उपाधिका लागि फाइनल खेल्नेछन् । 



नयाँ