- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सावधिक जीवन बिमा र म्यादी जीवन बिमा बापतको साढे दुई करोड रुपैयाँ ठगी सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–२ बस्ने २१ वर्षीया सपना मल्ल, स्याङ्जा वालिङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल बाँके कोहलपुर नगरपालिका–११ बस्ने ३१ वर्षीय सञ्जिव अर्याल, कोहलपुर नगरपालिका–१५ बस्ने ३२ वर्षीय सरदार अहमद खाँ, बाँके बैजनाथ गाउँपालिका–८ का ३३ वर्षीय टोप बहादुर राना क्षेत्री, कोहलपुर नगरपालिका–११ का ३८ वर्षीय दिपक केसी र कोहलपुर नगरपालिका–१ का २१ वर्षीया ललिता सापकोटा रहेका छन् ।
सवारी दुर्घटनामा मृत्यु भएका बाँके कोहलपुर नगरपालिका–११ बस्ने २१ वर्षीय सर्जन बिकको नाममा गरिएको बिमा रकम ठगीको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
बैजनाथ गाउँपालिका–६ लालपुरस्थित भित्री सडकमा टोप बहादुरले चलाएको भे १ ख २४९१ नम्बरको मिनी बसको ठक्करबाट सर्जन गम्भीर घाइते भएका थिए । सर्जन चढेको भे १० प १७२७ नम्बरको मोटरसाइकललाई मिनी बसले ठक्कर दिएको थियो । सर्जनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा गत बैशाख २ गते मृत्यु भएको थियो ।
घटनाको अनुसन्धान हुँदा मृतकको बिमा बापतको रकम रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट मृतककी श्रीमती सपना मल्लले बुझी कामना सेवा विकास बैंक कोहलपुरमा रहेको आफ्नो बैंक खातामा जम्मा गरेको पाइएको थियो । उक्त रकम बाँडफाँटसमेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
सर्जन विकको सवारी दुर्घटनामा भएको मृत्यु शंकास्पद देखिएकोले सत्यतथ्य अनुसन्धान गरिपाउँ भन्ने नेपाल पुनर्बिमा कम्पनीबाट पत्राचार भएपछि सुक्ष्म अनुसन्धानको क्रममा विभिन्न भूमिकासहित उनीहरू ठगीमा संलग्न भएको खुल्न आएको थियो ।
केन्द्रीय अनुसन्धान व्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले सपनालाई दिल्ली हुँदै जापान जाने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सोमबार तथा सन्जीव, सरदार अहमद, टोप बहादुर, दिपक र ललितालाई बाँके कोहलपुरबाट बुधबार पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।