arrow

गर या मरको अवस्थामा बंगलादेशसँग खेल्दै नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १७ मंगलबार
u20-saff-championship-nepal-2022-07-28.jpg

काठमाडौं । साफ यू–२० च्याम्पियनशिप २०२२ फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपालले बलियो बंगलादेशको सामना गर्दैछ ।  भारतको भुवनेस्वरस्थित कालिङ्गा रंगशालामा हुने खेल अपराह्न ४ः१५ बजे शुरु हुनेछ ।

बंगलादेशविरुद्ध नेपाललाई सुखद नतिजा मात्र ल्याएर फाइनल यात्रा सम्भावना रहँदैन । कम्तीमा पनि नेपालले ५–० अन्तरको जित निकाल्नु पर्ने हुन्छ । जुन सहज पक्कै छैन । 

यता, आज नै दोस्रो खेलमा भारत र माल्दिभ्स भिड्दै छन् । जुन खेलमा माल्दिभ्सले अप्रत्याशित नतिजा निकाले नेपालको भाग्य खुल्नेछ । तीन खेलमा ९ अंकसहित बंगलादेश शीर्ष स्थानमा छ । समान खेलमा समान ६ अंक जोडेका भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेपालभन्दा भारत गोलअन्तरमा निकै माथि छ । 

बंगलादेशले पहिलो खेलमा श्रीलकालाई हराएको थियो भने दोस्रो खेलमा भारतलाई स्तब्ध पारेको थियो । तेस्रो खेलमा भने बंगलादेशले माल्दिभ्समाथि सहज जितसहित फाइनलमा दाबेदारी बलियो पारेको थियो ।

बंगलादेशमाथि फराकिलो जित निकालेमा नेपालको खातामा पनि ९ अंक हुनेछ । दोस्रो खेलमा भारतले माल्दिभ्सलाई हराएमा घरेलु टोलीको पनि ९ अंक हुनेछ । यस्तो अवस्थमा राम्रो गोलअन्तरको आधारमा भारत र नेपालले शीर्ष दुई स्थान पक्का गर्दै फाइनलको टिकट काट्ने छन् ।

भारत माल्दिभ्ससँग पराजित भएमा र नेपालले बंगलादेशमाथि झिनो अन्तरको जितमात्र निकाले पनि फाइनलमा पुग्नेछ । 

पहिलो दुई खेलमा नेपालले क्रमशः माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले हराएको थियो । तर, फाइनलमा दाबेदारी प्रस्तुत गरेको नेपालका लागि तेस्रो खेलमा भारतसँग व्यहोरेको ८–० को लज्जास्पद हार बेहोर्नु घातक बनेको छ ।
 



नयाँ