arrow

करार कर्मचारी हटाएर फेरि करार नै भर्ना गर्दै स्थानीय तह 

logo
प्रकाशचन्द्र भट्ट,
प्रकाशित २०७९ साउन १९ बिहिबार
darchula.png

दार्चुला  । स्थानीय तहमा नेतृत्व फेरिदा अघिल्ला जनप्रतिनिधिको कार्यकालमा भर्ना गरिएका धेरैजसो करारका कर्मचारी धमाधम हटाइन लागेका छन् । 

दार्चुलाका धेरैजसो स्थानीय तहले कार्यपालिकाबाट निर्णय गरी करार सम्झौता थप नगर्ने जनाएका हुन् । उनीहरूले वर्षौदेखि काम गरिरहेका करार कर्मचारीहरूलाई आफूखुसी बिदा गरेका छन् । 

स्थानीय तहले आवश्यकताअनुसार करारमा कर्मचारी राख्न र हटाउन पाउँछन्, तर उचित कारण खुलाउनुपर्दछ । यस्तै सङ्घ सरकारबाट वितरित सशर्त अनुदानमा सञ्चालित राष्ट्रिय कार्यक्रमका लागि पनि करारमा कर्मचारी भर्ना गरिएका छन् । ती कर्मचारी पनि नयाँ जनप्रतिनिधिको निसानामा छन् ।

नयाँ आर्थिक वर्षमा करार अवधि नवीकरण नगरी कतिपय स्थानीय तहले नयाँ भर्नाको प्रक्रियासमेत अघि बढाएका छन् । पालिकामा स्थायी कर्मचारी कम हुँदा पनि स्थानीय तहहरू स्थायी पदपूर्ति गर्न छोडेर फेरी पनि करार कर्मचारी नै पदपूर्ति गर्न लागेका हुन् ।

जिल्लाको शैल्यशिखर नगरपालिकाले एकै पटक ठूलो सङ्ख्यामा करार कर्मचारी हटाइ ९० जनाको नयाँ भर्ना आवेदन खोलेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंह विष्टले स्वास्थ्य क्षेत्रका ८० जना र नगरपालिकाका ४० जना गरेर १ सय २० जना करार कर्मचारीको म्याद नथपिएको बताए । 

यस्तै जिल्लाको व्यास गाउँपालिकाले पनि करार कर्मचारी हटाएर नयाँ आवेदन खुला गरी भर्ना गर्न लागेको छ । व्याँसले २८ जना कर्मचारीका लागि नयाँ आवेदन खोलेको छ । यस्तै दुहुँ गाउँपालिका, अपिहिमाल गाउँपालिका, नौगाड गाउँपालिका, मालिकार्जुन गाउँपालिकाले पनि करार कर्मचारी भर्नाका लागि नयाँ आवेदन माग गरेका छन् । 

यसैबीच सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूलाई करार कर्मचारी लिने विषयमा प्रक्रिया पुर्‍याएर गर्न चेतावनीसहित सूचित गरेको छ । विभिन्न स्थानीय तहले एकमुष्ट रूपमा करार कर्मचारी हटाइ पुनः सयौँको सङ्ख्यामा विज्ञापन गरेको उजुरी आएकाले खाली पदहरूमा लोक सेवा आयोगसँग माग गरी विवरण पठाउन तथा कानून बमोजिम गर्न भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ