arrow

यू–२० साफ च्याम्पियनशिपको उपाधि भारतलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २१ शनिबार
saff-u20-championship-2022-india.jpg

काठमाडौं । आयोजक भारतले यू–२० साफ च्याम्पियनशिप फुटबलको उपाधि जितेको  छ । शुक्रबार राति भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको फाइनलमा भारतले बंगलादेशलाई ५–२ ले पराजित गर्दै उपाधि जितेको हो । 

भारतको जितमा गुरकिरत सिंहले सर्वाधिक चार गोल गरे । अर्को एक गोल हिमान्सु जङ्ग्राले गरे । खेलको निर्धारित समय भने २–२ को बराबरीमा टुङ्गिएको थियो । त्यसपछि अतिरिक्त समयमा भारतले तीन गोल थप्दै उपाधि सुनिश्चित गर्यो ।

खेलको दोस्रो मिनेटमै गुरकिरत सिंहले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । बंगलादेशका गोलकिपर मोहम्मद आसिफले भारतका गुरकिरत सिंहलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा गुरकिरत आफैले कुनै गल्ति गरेनन् ।

तर, हाफ टाइमका लागि अन्तिम मिनेट बाँकी रहँदा मोहम्मद राजोनले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काएका थिए ।

४८औं मिनेटमा साहिन मियाँले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६१औं मिनेटमा भारतका गुरकिरतले नै गोल गर्दै घरेलु टिमलाई बराबरीमा फर्काएका थिए । यसपछि खेलको ९२औं मिनेटमा भारतका हिमान्सुले पुनः अग्रता दिलाएका थिए ।

 त्यसको एक मिनेटपछि गुरकिरतले ह्याट्रिक गर्दै घरेलु टिमको अग्रता अझ फराकिलो पारे । खेलको ९९औं मिनेटमा गुरकिरतले नै व्यक्तिगत चौथो तथा टिमका लागि गोल गरे ।

यसअघि भारत लिग चरणमा बंगलादेशसँग २–१ ले पराजित भएको थियो । भारतले प्रतियोगिताका पाँच खेलमध्ये चार खेलमा जित निकाल्यो ।

प्रतियोगितामा छ टोलीले सहभागीता जनाएकामा नेपाल २ जित, १ बराबरी र १ हारका साथ तेस्रो स्थानमा रहँदै फाइनल पुग्नबाट वञ्चित भएको थियो । 



नयाँ