- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली राष्ट्रिय फुटबलमा संस्थाभन्दा व्यक्ति हावी भएका घटना पहिलेदेखिकै हुन् । त्यस्तैमा विदेशी प्रशिक्षक भएर पनि सिङ्गो संस्थालाई पटक पटक धम्की दिने काम नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गर्दै आएका छन् ।
मंगलबार साँझ पनि अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सम्झौताबारे उनले धम्कीपूर्ण विज्ञप्ति जारी गरेका छन् । अलमुताइरीले मंगलबार साँझ सामाजिक संजाल फेसबुकबाट एन्फासँगको सम्झौताबारे आफूविरुद्ध गलत प्रचार भइरहेको र सम्झौता भएसम्म आफू नेपालको प्रशिक्षक रहने जनाएका छन् । उनले सम्झौता पालना नभए फिफा र एएफसीमा जानेसमेत धम्की दिएका छन् ।
अलमुताइरी तिनै प्रशिक्षक हुन् जसले खेलाडीलाई बाहिर खेल्न लगेर बाहिरबाटै अबदेखि नेपालको प्रशिक्षकबाट राजीनामा दिएको भनेर लेखेर घर फर्केका थिए । उनले त्यतिबेला फिफा र एएफसीको नियमसमेत उल्लंघन गरेर सम्झौता तोडेका थिए ।
उनले एन्फाको स्रोतको नाममा आफ्नो झुटा समाचार फैलाइरहेको उल्लेख गर्दै उक्त बदमासीविरुद्ध आफू फिफा र एएफसीमा जानेसमेत धम्की दिएका छन् ।
अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवादबारे छानबिन गर्न गठित समितिले तयार पारेको रिपोर्ट अनुसार एन्फाले उनलाई स्पष्टीकरण माग गर्दै पत्र लेखेको थियो । तर छुट्टीमा रहेका अलमुताइरीले एन्फाले पठाएको पत्रको जवाफ नदिएको भन्ने समाचार प्रकाशित भएको थियो ।
प्रशिक्षक अलमुताइरीले एन्फाले स्पष्टीकरण सोधेको पत्र आफूले मंगलबारमात्र प्राप्त गरेको र वकिलसँग सल्लाह गरेर जवाफ दिने उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘सबैलाई यो पत्रबाट जानकारी गराउन चाहन्छु कि मलाई एन्फाले आज स्पष्टीकरण माग गरेको छ । मलाई जवाफ दिनको लागि कुनै समय सीमा तोकिएको छैन । मैले तुरुन्तै जेनेभामा रहेका मेरो वकिलसँग सल्लाह गरेँ । यसबाहेक प्रशिक्षकबारेको फिफाको नियम एन्फाले पनि पालना गर्नुपर्छ । मैले छानबिन समितिको वैधानिकतामाथि प्रश्न उठाएको छु । यद्यपि मौन बसेँ ।
विज्ञप्तिमा लेखिएको छ, ‘म सबैलाई जानकारी गराउन चाहन्छु कि म पत्रको जवाफ मेरो वकिलबाट सल्लाह लिएपछि पठाउने छु ।’
छानबिन समितिले तयार पारेको प्रतिवेदनमा विवादमा मुख्य प्रशिक्षक समेत दोषी रहेको देखाएको छ । यस्तै प्रतिवेदनले एसियन कप छनोटपछि कतार फुटबल संघसँगको सहयोगलाई निरन्तरता र सहमति कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरेको थियो ।
अलमुताइरी संस्थाभन्दा माथि रहँदै आएका छन् । यसअघि हालका अध्यक्ष पंकजविक्रम नेम्वाङ (पहिले वरिष्ठ उपाध्यक्ष हुँदा) ले आफूलाइृ काम गर्न नदिएको आरोप लगाएका थिए । सिङ्गो संस्था र जिम्मेवार पदाधिकारीमाथि प्रश्न उठाउँदासमेत तत्कालीन नेतृत्व भने मौन बसेको थियो ।
अहिले तिनै नेम्वाङ अध्यक्ष छन् । सिंगो संस्थालाई चुनौती दिनु भनेको अलमुताइरीले फेरि पनि तिनै नेम्वाङसँगै असन्तुष्टि व्यक्त गरिरहेको बुझिन्छ ।
सामान्य विषयमा १० मुख्य खेलाडीलाई बाहिर राख्ने प्रशिक्षकमाथि फिफा र एएफसीले पनि अनुसन्धान गर्नुपर्ने देखिन्छ ।