- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
२०५९–६० सालको कुरा हो राजनीतिक दलहरुको प्रतिगमन विरुद्धको आन्दोलन चलिरहँदा सँगसँगै नागरिक आन्दोलन पनि अगाडि बढिरहेकाे थियो । त्यतिबेला शान्तिका लागि साझा अभियान काेक्याप भन्ने अनामनगरमा कार्यालय नै स्थापना गरी नागरिक आन्दाेलनका गतिविधिहरु शुरु गरिएको थियो । त्यसको नेतृत्वदायी भूमिकामा दिनेश प्रसाईहरु हुनुहुन्थ्यो । त्यही प्लेटफर्मबाट नागरिक आन्दोलनको जग स्थापना भएको थियो ।
त्यसले विभिन्न कार्यक्रम गर्ने क्रममा एक पत्रकार (ईमेज च्यानलको राजनीतिक बिटमा रहेर काम गरिरहँदा) सँगै सामाजिक र राजनीतिक अभियानकर्ताको रुपमा सक्रिय थिएँ । पत्रकार महासंघ र प्रेस युनियनका कार्यक्रमसँगै राजनीतिक कार्यक्रममा सहभागी भइन्थ्यो । मार्टिन चौतारी, शान्ति समाज, नेपाल साउथ एसिया सेन्टर, शान्तिका लागि साझा अभियानहरु छलफलका केन्द्र हुने गर्दथे । देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, कृष्ण खनाल, श्याम श्रेष्ठ लगायतका नागरिक अगुवाहरुले नेतृत्व गरेका थिए ।
ती अभियानमा जीवन भर्ने काममा कहीं न कहीं प्रदीप गिरीका विचारले प्रभाव पारिरहेका थिए । २०६२–६३ को आन्दोलनको पृष्ठभूमिमा नेपालसँगै भारतका विभिन्न क्षेत्रमा उहाँले विचार राख्नुहुन्यो । आन्दोलनलाई समर्थन जुटाउने क्रममा गिरीले भारतका विभिन्न ठाउँमा प्रवचन दिनुभयो । गिरीकै कारण भारतीय शीर्ष नेतृत्व, राजनीतिक दल, भारतीय मिडिया र नागरिक समाजका ढोका नेपाली नेता, कार्यकर्ताका लागि सधै खुला जस्तै हुने गर्दथे ।
नेपालको लोकतान्त्रिक आन्दोलनलाई सहयोग गर्ने भूमिकामा भारतीय नेताहरुलाई ल्याउने काममा गिरीले महत्वपूर्ण भूमिका खेल्नुभयो । आफू भारतमा बसेर पढेको र राजनीति गरेको कुराले पनि नेपालको राजनीतिका बारेमा भारतीय संस्थापन, राजनीतिक दललाई बताउन उहाँको पृष्ठभूमिले ठूलो काम गरेको थियो ।
यो लोकतान्त्रिक आन्दोलनमा उत्प्रेरकको भूमिका खेल्ने क्रममा ‘सोसलिष्ट मुभमेन्ट’ मा गिरीको भूमिका देखिन्छ । खासगरी प्रतिगमनविरोधी आन्दोलन र गणतन्त्र स्थापनाको क्रममा पनि पिछडा वर्गलाई अग्रमोर्चामा ल्याउन प्रदीप गिरीले आत्मदेखि नै चाहना राख्नुहुन्थ्यो । उहाँले जबसम्म मूलप्रवाहमा पिछडा वर्ग अगाडि आउँदैन तबसम्म गणतन्त्रको लक्ष्य पूरा नहुने धारणा राख्नुहुन्थ्यो ।
उहाँले विभिन्न फोरममा आन्दोलन सफल भएरमात्र नभइ प्राप्त उपलब्धिलाई सुरक्षित राख्नका लागि निरन्तर झक्झक्याइरहनु भयो । उहाँले त्यस्ता फोरममा कतिपय विषयमा ‘एन्टिकरेन्ट’ भएर पनि छलफल चलाउनु भयो । आफ्नो पार्टीले लिएको बाटो गलत लागेमा त्यसको विरुद्ध सतीसालझैं उभिन उहाँ हच्कनु भएन ।
यस्तो लाग्थ्यो कि सिद्धान्तमा उहाँ अडिक हुनुहुन्छ । व्यवहारमा पक्का हुनुहुन्छ । समाजको उहाँ मियो नै हो । र जुनकुरा व्यवहारमा उतार्न सकिँदैन त्यस्तो अव्यवहारिक कुरा नेताले बोल्नु हुँदैनसमेत भन्नुहुन्थ्यो । विचारमा लोकतन्त्रवादी र आर्थिक नीतिमा समाजवादी गिरी राजनीतिशास्त्री, दर्शनशास्त्रीसँगै समाजशास्त्री पनि हुनुहुन्थ्यो ।
उहाँसँगको भेटघाट र छलफल धेरै भयो । एक राजनीतिकर्मीका रुपमा भन्दा संचारकर्मीका रुपमा उहाँको सान्निध्यता प्राप्त भयो । २०६२–६३ को आन्दोलन सफल भएपछि भारतको नयाँदिल्लीमा इन्डिया सोसल फोरम भन्ने एक सामाजिक अभियानमा नयाँदिल्लीमा हामी सँगसँगै भयौं । उहाँसँगै गगनकुमार थापा, रामकुमारी झाँक्री, कल्याण गुरुङलगायत रहेका थियौं ।
नेपालबाट हामी थुप्रै पुगेका थियौं त्यो फोरमका लागि । हामीमात्र हैन तराईमा रहेको सिनो वहिस्कार आन्दोलनमा सक्रिय दलित अगुवाहरु दुःखीराम, बलदेवराम लगायत पनि थिए । दिनेश प्रसाई, प्रतिक्षा क्षेत्री लगायत भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा विद्यावारिधि गर्दै हुनुहुन्थ्यो । उहाँहरुले पनि फोरममा सक्रिय भूमिका खेल्नुभयो ।
उहाँहरुसँग नेपालको आन्दोलनलाई कसरी सफल बनाउने भनेर चिन्तनमा हुन्थ्यौं । यद्यपि पत्रकारका रुपमा गएकाले उहाँहरुका विचारलाई कसरी बाहिर ल्याउने र त्यो चिन्तनलाई सफल पार्नका लागि कसरी काम गर्न सकिन्छ भनेर पनि अर्को चिन्तन गर्नुपर्ने थियो ।
त्यसपछि लामो समय आफैँ स्वास्थ्य उपचारका क्रममा रहनु पर्ने भयो । त्यो बेलामा मैले गिरीलाई भेटिन । तर २०६४ सालको संविधान सभाको चुनाव भएपछि दुई वर्षभित्रै संविधान जारी गर्नुपर्छ भनेर क्याम्पेन भएको थियाे । संविधान निर्माणका लागि राष्ट्रब्यापी युवा दवाव अभियान मार्फत समयमै संविधान जारी गर्न अभियान संचालन भएकाे थियो । त्यो अभियान अन्तर्गत देशभर कार्यक्रम गर्यौं ।
६०१ को लिगलिगे दौड, सांसदकाे उल्टो यात्रा लगायत विभिन्न कार्यक्रम गर्यौं । संविधान निर्माणका क्रममा गिरी हुने खानेको भन्दा हुँदाखाने वर्गको लागि लड्नु भयो । मार्जिनलाइज्ड पिपुलका लागि काम गर्न नसके जुनसुकै बेलामा पनि व्यवस्था अप्ठेरोमा पर्न सक्छ भन्दै उहाँ चिन्तित हुनुहुन्थ्यो । त्यो वर्गका लागि उहाँ लड्नु हुन्थ्यो ।
म स्वास्थ्य लाभपछि मिडियामा जानुअघि अभियानमा जोडिइरहँदा काठमाडौंमात्र नभइ देशभर जोडिनुपर्छ भनेर हामीले मेचीदेखि महाकालीसम्मको यात्रा गरेका थियौं । झण्डै ३८ सय किलोमिटरको यात्रा गरेका थियौं । त्यसको मेन्टरको रुपमा प्रदीप गिरी हुनुहुन्थ्यो । त्यो सबै हुँदै गर्दा प्रदीप गिरीलाई यो बीचमा कयौं आलेखमार्फत बुझ्ने मौका पायौं ।
महिला, दलित लगायतका विषयमा कलम चलाउनु भयो । मार्जिनलाइज्ड (सीमान्तकृत) मानिसका लागि उहाँ सधै चिन्तनशील हुनुहुन्थ्यो । दुई तिहाई बढीले जारी गरेको नेपालको संविधान २०७२ को बारेमा पनि उहाँले आलोचना गर्नुभएको थियो । मधेसका नागरिकका लागि २०७२ को संविधान संशोधन हुनुपर्छ भन्नेमा उहाँ हुनुहुन्थ्यो । सीमान्तकृत र वञ्चित समुदायको हक हितका लागि उहाँले वैचारिकसँगै व्यवहारमै पनि कार्यान्वयनको चरणमा लागेको पाएको छु ।
म प्रेस युनियनको महासचिव हुँदा पूर्वका कार्यक्रम सकाएर ताप्लेजुङ हुँदै सिराहा आइपुग्दा उहाँको आश्रममा पुगेको थिएँ । गान्धीवादी सोचसँगै उहाँले आफ्नो पुख्र्यौली जमीनमा आश्रम खोल्नु भएको थियो । जहाँ खासगरी बालिकाहरुलाई आफूले पढाउनु भएको थियो । संचारले कसरी समाजलाई सशक्तिकरण गर्न मद्धत पुर्याउँछ भनेर आफ्नो ठाउँमा सामुदायिक रेडियो संचालनसमेत गर्नुभएको थियो । मसँग त्यतिबेला प्रेस युनियनका उपाध्यक्ष बाला अधिकारी, सुरक्षा रेग्मी, संजय कार्कीलगायत थियौँ ।
उहाँले समावेशीताको नाममा एकैखालका मानिसहरुमात्र माथि आएकोप्रति चिन्ता व्यक्त गर्नुभएको थियो । महिलाहरु पनि एकैखालेमात्र माथि आउने । समावेशीताको नाममा माथिल्लो वर्ग र धनीमानीले पाउने अधिकारले सीमान्तकृत र वञ्चित समुदायको अधिकार कुण्ठित हुनेमा उहाँ चिन्तित हुनुहुन्थ्यो । वास्तविक पीडित वर्ग मात्र त्यसबाट लाभान्वित हुनुपर्नेमा उहाँको जोड थियो ।
उहाँले आफ्नै खर्चसँगै नेटवर्कमार्फत छात्रवृत्ति उपलब्ध गराएर धेरै विद्यार्थीलाई पठाउनु भएको थियो । राजनीतिकर्मीको कर्म सँगसँगै समाजवादी भएको कर्म पनि उहाँ देखाउनु हुन्थ्यो । बाढी, शीतलहरका बेलामा आफ्नो क्षेत्रका प्रभावित व्यक्तिहरुलाई राहत सामग्री पठाउने, वितरण गर्ने काम पनि उहाँले गरेको पायौं । आफू जान सके आफू जाने नसके सम्बन्धित क्षेत्रमा आफ्ना कार्यकर्ताहरु खटाएर भए पनि उहाँले लक्षित वर्गलाई सहयोग गरिरहनु भयो । हामीले यसको रिपोर्टिङ पनि गर्यौं ।
प्रदीप गिरी विद्धता, विश्लेषण, समालोचना, राम्रो वक्ता, चिन्तकको हिसाबले नेपालमा छुट्टै मानक बनेर जानु भएको छ । उहाँ कहिल्यै पनि लोभ लालचमा फस्नु भएन । उहाँको छुट्टै मानक बनेको छ । चार पटक सांसद भएर पनि कहिल्यै मन्त्री बन्ने लोभलालच देखाउनु भएन । उहाँ राजनीतिको रोमाञ्चकतामा हराएको पाइएन । उहाँले त्यसलाई परैबाट हेर्नुभयो । उहाँले राजनीतिभित्रको पावर एक्सरसाइजको रोमाञ्चकतामा रमाउन चाहन्न भन्नुहुन्थ्यो । उहाँले समाजका लागिमात्र राजनीति गर्नुभयो । समाजकै लागि बाँच्नुभयो । उहाँ व्यक्तिगत रुपमा निष्कलंक छवि बनाएरै जीउनु भयो । उहाँको राजनीतिक जीवनमा कहिल्यै पनि दाग देखिएन । कयौं दागी नेता छन् । राजनीतिमा दागरहित हुनु अहिलेको परिस्थितिमा निकै कठिन विषय हो ।
उहाँले कांग्रेसको महाधिवेशनमा कहिल्यै पनि आफूलाई भोट मागेको पाइएन । जसले कम्युनिष्ट नेताहरुलाई मार्क्सवादको प्रशिक्षण दिनुहुन्थ्यो । उहाँको व्यक्तित्व हेरेरै कांग्रेस केन्द्रीय नेतृत्वका लागि जहिले पनि कार्यकर्ताले जिताएरै छाड्थे । यसबाट पनि पार्टीमा उहाँको वैचारिक व्यक्तित्वको विराट स्वरुप झल्कन्थ्यो ।
महात्मा गान्धीको विचारबाट प्रेरित गिरी नेपालमा गान्धीवादी विचारलाई फैलाउने क्रममा निकै लाग्नुभयो । उहाँले विभिन्न युवायुवतीलाई गान्धी विचार पढ्न भारत पठाएर पनि प्रवद्र्धन गर्न मद्धत गर्नुभयो । कांग्रेस केन्द्रीय सदस्य नानु बास्तोला, शंकर तिवारी जस्ता कयौं विद्यार्थीहरु गान्धी अध्ययन गरेर फर्केर उहाँ निकट भएर काम गरेका थिए । त्यस्तै रत्न कार्की, रामपल्टन साहजस्ता संगठकहरु गिरीको सान्निध्यतामा थिए ।
नेपालमा थुप्रै विषयहरुलाई बाहिर ल्याउने काममा गिरीले उदाहरणीय भूमिका खेल्नुभएको छ । नेपालको राजनीतिमा यस्तो व्यक्ति पनि थियो है भन्ने मानक गिरी अस्ताउनु भयाे । मसल र मनिमात्र नभई निष्ठाको आधारमा पनि राजनीति गरिन्छ भनी गिरी अस्ताउनु भएको हाे । उहाँ अस्ताउँदै गर्दा हालसम्मकै नेपाली राजनीतिको शिखर पुरुष वीपी कोइरालालाई नेपाली समाजमा थप स्थापित गराउन र उहाँको विचारलाई विस्तार गर्न गिरीले अतुलनीय योगदान पुर्याएर जानु भएको छ । किशोर नेपालसँगको अन्तर्वार्ताको एक प्रसङ्गमा गिरीले वीपीलाई ढिलोचाँडो विश्व समुदायलेसमेत बुझ्ने भन्दै वीपीको विराट चिन्तनको चर्चा गरेबाटसमेत उहाँ वीपीको विचार, वीपीले अंगीकार गरेको समाजवादबारे कति गम्भीर हुनुहुन्थ्यो भन्नेसमेत स्पष्ट हुन्छ ।
राजनीतिलाई सङ्लो बनाउन गिरीले सिकाउनु भयो । उहाँको महाप्रस्थानले ठूलो रिक्तता छाएको छ । उहाँका आदर्शलाई निरन्तर प्रवाह गरेर राजनीतिलाई निष्कलंक गराउन सक्यौं भने नेपाली कांग्रेसलाई समाजमा थप स्थापित गर्न मद्धत गर्छ । पार्टीलाई दीगो बनाइराख्न मद्धत पुग्नेछ । उहाँले देखाएको बाटोमा हिँड्न प्रेरणा मिलिरहोस् । त्यो बाटोमा लाग्न उहाँका विचारले सदैव प्रेरित गरिरहोस् । (लेखक शिवाकोटी नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्)