arrow

प्रदीप गिरीको अभाव खड्किरहेको छ – प्रचण्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २३ शनिबार
prachanda-2080-05-22a.jpg

लहान । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको अभाव नेपाली राजनीतिमा खड्किरहेको बताएका छन् । 

शुक्रबार सिरहाको लहान नगरपालिका–१४ स्थित ‘गिरि आश्रम’ मा नेता गिरीको प्रथम वार्षिकी समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्व नेता गिरीको विचार र चिन्तनको मौलिकता तथा सबैसँग सरल र सहज सहकार्य गर्नसक्ने विलक्षण क्षमता भएकाले उनीबाट सिक्न धेरै कुरा बाँकी रहेको महसुस गरेको बताए । 

“प्रदीप गिरी मौलिक र विलक्षण चिन्तनको धनी हुनुहुन्थ्यो । उहाँको दार्शनिक चिन्तन, समाजवादी चिन्तन, राजनीतिक विश्लेषण र तिनलाई हेर्ने उहाँको आफ्नै मौलिक दृष्टिकोण थियो । जसको कारणले नेपाली समाजको सबै वर्ग, तह र तप्काले उहाँलाई उत्तिकै सम्मान र भरोसा गरिरहेका छन्”, प्रधानमन्त्री दाहालले भने, “प्रदीप गिरीको तुलना अरु कोहीसँग गर्न कठिन छ । उहाँको उच्च विचार र राजनीतिक संस्कारबाट हामीले ऊर्जा लिनुपर्छ ।” 

त्यसैगरी नेता गिरीको निधनले आउने पुस्ताका लागि विचार, चिन्तन र ऊर्जा प्राप्तिमा अमर रहिरहने विश्वास रहेको उनले व्यक्त गरे । 

प्रदीप गिरी मेमोरियल ट्रष्टले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले नेता गिरीको पूर्णकदको शालिक अनावरण गरे । समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले सिरहाको भौतिक पूर्वाधारको विकास र लहानमा प्रदीप गिरीको नाममा मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे । 

“विसं २०७० को निर्वाचनमा सिरहाले मलाई जिताएर नै म दोस्रो पटक प्रधानमन्त्री बनेको थिएँ । तपाईंहरूले लगाएको गुन मैले पूरै तिर्न पाएको छैन, यो पटक कुनै न कुनै रूपमा तिर्नु छ”, उनले भने । 

कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, पूर्वमन्त्रीहरू मात्रिकाप्रसाद यादव, पद्मनारायण चौधरी, अजय शङ्कर नायके, सीतादेवी यादवलगायतले मन्तव्य राखेका थिए । 

लहान–१४ को खुट्टी खोलाको छेउमा गिरि विसं २०४६ पछि बस्दै आउनुभएको ठाउँलाई प्रदीप गिरीको आश्रम भनेर चिनिने गरिन्छ । स्व गिरीलाई वीपीको समाजवादी चिन्तनको सच्चा व्याख्याताका रूपमा हेर्ने गरिन्छ । नेता गिरीको ललितपुर नक्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा गत वर्ष भदौ ४ गते ७५ वर्षको उमेरमा निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ