arrow

भोलिसम्म कांग्रेसको झण्डा आधा झुकाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
nc-party-office.png

काठमाडौं ।  नेपाली कांग्रेसले दिवङ्गत नेता प्रदीप गिरीप्रति उच्च सम्मान प्रकट गर्दै यही भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । 

साथै पार्टीले शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक अरु सबै कार्यक्रम स्थगित गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतवार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले समाजवादी चिन्तक, पूर्वकेन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

यसैगरी कांग्रेसले भदौ ६ गते सोमबार केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिन (भदौ १६ गते) सम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
 
स्वर्गारोहणको १३ औँ दिन (भदौ १६ गते) मा केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने बैठकले निर्णय गरेको छ । नेता गिरी समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञानपुञ्ज, समाजवादी चिन्तक, लेखक, निष्ठावान् त्यागी एवं बहुआयामिक व्यक्तित्व थिए ।
     
पिता मित्रलाल गिरी र माता पुण्यप्रभा गिरीको कोखबाट विसं २००४ असोज २४ गते गोबर्धन पूजाका दिन सिरहाको बस्तीपुरमा जन्मिका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नाकोत्तर गरेका थिए । उनी समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरुसँग उच्च तहको मित्रवत् सम्बन्ध एवं नेपाल–भारत सम्बन्धमा गहिरो प्रभाव राख्ने एक सरल जीवनशैलीका गान्धीवादी नेता थिए ।
 
उनी राजनीतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यावहारिक व्याख्याता, ग्रामीण किसान, मजदूर एवं विपन्न परिवारलाई विकासको केन्द्रविन्दुमा राख्नुहुन्थ्यो । कांग्रेसलाई थप समावेशी र सबल बनाउन उन हरदम क्रियाशील रहेको कांग्रेसले जनाएको छ ।
 
नेता गिरी नेपालमा राजनीतिक दल प्रतिबन्धित भएको समय बनारसबाट कांग्रेस पार्टीमा आबद्ध भई पार्टी सङ्गठनका माध्यमबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै निरङ्कुश पञ्चायतका विरुद्ध निरन्तर सङ्घर्षरत रहे । सबै किसिमका निरङ्कुशताविरुद्ध प्रखर वैचारिक सङ्घर्षमा होमिएका गिरी लोकतान्त्रिक आन्दोलनमा वैचारिक र साङ्गठनिक अग्रणी भूमिका निभाउने क्रममा पटकपटक जेल र निर्वासनमा रहे ।
 
उनी कांग्रेस पार्टीमा मात्रै नभएर नेपाली र विदेशी राजनीतिक समकक्षीबीच लोकप्रिय थिए । दार्शनिक नेता प्रदीप गिरीको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, कांग्रेस, सिङ्गो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुगेको कांग्रेसको ठहर छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ