arrow

उप-मेयर कप महिला तीज प्रतियोगिता हुने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
upmehar-cup.jpg

डोटी । डोटीमा जिल्ला स्तरीय उप-मेयर कप महिला तीज प्रतियोगिता आयोजना गरिने भएको छ । महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा जिल्ला स्तरीय तिज प्रतियोगिता आयोजना हुने आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो। 

दिपायल सिलगढी नगपालिका, भैरव प्रसाद गण र त्रिवेणी एफएमको संयुक्त आयोजनामा भदौ ७ गते देखि १४ गते सम्म हुने कार्यक्रममा तीज खेल प्रतियोगितासँगै, दर खाने कार्यक्रम र देउडा गीत प्रतियोगिता हुने आयोजकले जनाएको छ। 

भदौ ७ र ८ गते कबड्डी प्रतियोगिता, ९ र १० गते भलिबल प्रतियोगिता , १० र ११ गते फुटबल प्रतियोगिता टुँडिखेलमा हुने आयोजकले जनाएको छ। त्यस्तै १० गते सिलगढीमा र ११ गते दिपायलमा महिलाहरूलाई दर खुवाउने र नाचगानको कार्यक्रम आयोजना गरिने छ । दरखाने कार्यक्रम सिलगढी टुँडिखेल र दिपायल स्थित दिल्पेश्वर मठमा हुनेछ । कार्यक्रममा भैरव प्रसाद गणले मेडिकल क्याम्प पनि राख्ने जनाएको छ ।

जिल्ला भरका महिलाहरू बीच भेटघाट हुने, आपसमा सुख दुःख बाँडफाँड हुने र खेल क्षेत्रमा पनि उहाँहरूको सहभागिता हुने भएपछि प्रतियोगिताको आयोजना गरिएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिं खड्का विजयले बताए । 

उनले भने ,´तिज उत्सवले समाजमा लुकेर रहेका महिलाको प्रतिभा उजागर गरी महिला जागरणका साथै महिला सशक्तीकरणमा सघाउ पुर्‍याउनेछ ।' उनले थपे ,´कला, संस्कृति ,रीतिरिवाज, चालचलन , भेष भूषा झल्काउने खालका कार्यक्रमलाई नगरले निरन्तरता दिनेछ ।

तीज विशेष कार्यक्रम र प्रतियोगिता खेल, संस्कृति, सभ्यता र स्वास्थ्य सँग जोडिएको भैरव प्रसाद गणका गणमती प्रमुख सेनानी जनमत कार्कीले बताए। प्रतियोगितामा सहभागी हुन चाहने टिमले भैरव प्रसाद गण र दिपायल सिलगढी नगरपालिकामा गएर टिम दर्ता गर्न सक्ने कार्कीले बताए ।

प्रतियोगितामा जिल्लाका ९ वटै स्थानीय तहबाट महिलाहरूको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा सबै विधाका खेलमा पुरस्कार र प्रमाण पत्रको दिने व्यवस्था गरिएको छ। प्रथम हुने टिमलाई १५ हजार , द्वितीय हुनेलाई १० हजार र प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ