arrow

पत्रकार महासंघका संस्थापक अध्यक्ष ‘सत्यनारायण’ भएको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
Fonij kaski.jpg

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नभई सत्यनारायणबहादुर श्रेष्ठको नाम हुनपर्ने माग गरेको छ । 

फोनिजले नेपाल पत्रकार महासंघलाई यस विषयमा बिहीबार ध्यानाकर्षण पत्र बुझाएको छ । फोनिज गण्डकी ईन्चार्ज एमवि आस्था (मानबहादुर घर्तीमगर) को सहभागितामा फोनिजले कास्की शाखामार्फत ध्यानाकर्षणपत्र बुझाइएको छ । इतिहासको विभिन्न तथ्य अनुसार नेपाल पत्रकार संघ गठन गरेर नेपाली पत्रकारलाई पहिलो पटक संगठित गर्ने व्यक्ति सत्यनारायण रहेको दावी गरिएको छ ।

‘देशको प्रधानमन्त्री बनिसक्नुभएका भट्टराईलाई गलत तथ्यका आधारमा पत्रकार महासंघको संस्थापक मान्नु उहाँको योगदानलाई विवादित पार्नु र मानमर्दन गर्नु पनि हो । यस्तो कार्य कतै र कसैबाट पनि नहोस् भन्ने विषयमा फोनिज सचेत छ’, ध्यानाकर्षण पत्रमा भनिएको छ । 

फोनिज कास्कीका अध्यक्ष  दिलप्रसाद गुरुङद्वारा जारी पत्रमा थप भनिएको छ, ‘प्राप्त तथ्य र प्रमाणहरूका आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ नै हुनुहुन्छ । यो तथ्य सर्वस्वीकार्य बनिसकेको छ । यसर्थ, नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनी उल्लेख गरेका गलत विवरण सच्याएर ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने सही तथ्यलाई स्थापित गराउन यसै ज्ञापनपत्र मार्फत नेपाल पत्रकार महासंघसँग जोड्दार माग गर्दछौँ ।’

ध्यानाकर्षण पत्र ग्रहण गर्दै महासंघ कास्की शाखाका कार्यवाहक अध्यक्ष रामप्रसाद तिमल्सेनाले फोनिजको यो महत्वपूर्ण माग कास्की शाखामार्फत केन्द्रसम्म जानकारी गराउने प्रतिवद्धता जनाए । उनले फोनिजको माग पूरा हुनेमा पनि आशावादी रहेको बताए ।

यस्तो छ फोनिजको दावी

विसं २००८ वैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायणबहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार संघ’ गठन गरेको थियो । २००९ वैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ पुनर्गठन भयो । थप पत्रकारलाई संघमा संगठित गर्ने उद्देश्यसाथ संघको पुनर्गठन गरिएको थियो ।

अकाट्य तथ्यहरूका आधारमा हाल नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ) को संस्थापक सभापति (हाल अध्यक्ष) सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्थ्यो भन्ने कुराको प्रमाणका रुपमा दस्तावेजहरूले पुष्टि गरिसकेको छ ।

तर, नेपाल पत्रकार महासंघले अकाट्य तथ्यहरूलाई नजरअन्दाज गर्दै सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ । महासंघको यो कदमप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले गम्भीर विमति राख्दै आएको छ । 

वि.सं २०१२ चैत १६ गते नेपाल पत्रकार संघ पुनर्गठित हुँदा कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बन्नुभएको तथ्य साँचो हो । उहाँको योगदानको हामी सबैले उच्च कदर गर्नुपर्छ, आदरभाव प्रकट गर्नु पर्दछ । फोनिज समन्यायिक समाज निर्माणको मान्यताबाट अग्रसर छ ।

यसर्थ, सन्त नेता भट्टराईको सामाजिक, राजनीतिक योगदानको यथोचित सम्मान र कदर होस् भन्ने कुरामा हाम्रो बिमति छैन । तर, तथ्यहरूले ‘नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने पुष्टि भइसकेको अवस्थामा ‘कृष्णप्रसाद भट्टराई नै संस्थापक अध्यक्ष हुनुहुन्छ’ भन्नु स्वयं भट्टराईको निस्वार्थ योगदानको अपमान मात्र होइन, नेपाल पत्रकार संघ गठन गरेर पहिलो पटक नेपालका पत्रकारलाई संगठित गर्ने सत्यनारायणबहादुर श्रेष्ठको योगदानको अवमूल्यन गर्ने, अपमान गर्ने र इतिहास नामेट पार्न खोज्नु निःसन्देह गलत काम हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ