arrow

कांग्रेस झापाबाट को-को बने उम्मेदवार ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २० सोमबार
krishna-sitoula.jpg

झापा ।  आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस झापाले सबै उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ । पाँच निर्वाचन क्षेत्र भएको झापामा तीन निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाका लागि एक-एक जनाको मात्रै नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर १ का लागि विश्वप्रकाश शर्मा, क्षेत्र नम्बर ३ मा कृष्णप्रसाद सिटौला र  क्षेत्र नम्बर ४ मा देउकुमार थेवेको मात्रै नाम सिफारिस भएको नेपाली कांग्रेसले जनाएको छ । 

क्षेत्र नम्बर १ मा सिफारिस हुने शर्मा पार्टीको महामन्त्री रहेका छन् भने क्षेत्र नम्बर ३ मा सिफारिस हुने सिटौला पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री हुन् । 

क्षेत्र नम्बर ४ मा सिफारिस भएका थेवे पार्टी सभापति हुन् । 

क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि केशवकुमार बुढाथोकी, सरिता प्रसाईं, सुधिरकुमार शिवाकोटी, जलकुमार गुरुङ, छत्रबहादुर गिरी र नवीनराज प्रसार्इंको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ५ मा महेन्द्राकुमारी सुब्बा, डा खगेन्द्रपाण्डव अधिकारी, विश्वदिप लिङ्देन, पदमबहादुर पौडेल र मेदनी प्रसाद सिटौलाको नाम सिफारिस भएको छ ।

२०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसले झापामा कुनै पनि क्षेत्रमा जीत हासिल गर्न सकेको थिएन ।

क्षेत्र नं १ मा सिफारिस भएका शर्मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार सुरेन्द्र कार्कीसँग पराजित भएका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच चुनावी तालमेल भएर कार्की निर्वाचित भएका थिए । 

क्षेत्र नं ३ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेका सिटौलालाई राप्रपाका तर्फबाट उम्मेदवार बनेका राजेन्द्र लिङ्देनले पराजित गरेका थिए ।

 क्षेत्र नम्बर ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राप्रपाबीच चुनावी तालमेल भएको थियो । चुनावी तालमेलका कारण लिङ्देन प्रतिनिधि सभामा सिटौलालाई पराजित गर्दै निर्वाचित भएका थिए ।

प्रतिनिधि सभाको समानुपातिक, प्रदेशसभा प्रत्यक्ष तथा समानुपातिकतर्फ सबैको नाम सिफारिस गरिएको नेपाली कांग्रेस झापाका सभापति थेवेले बताए। 



नयाँ